काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आन्तरिक एकताका लागि आइतबार राति भएको सहमतिबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमतिको मर्म विपरित भएको उल्लेख गरेका छन्। व्याख्या गलत तरिकाले भएको उल्लेख गर्दै नेता नेपालले त्यो अस्वीकार्य हुने बताएका छन्।
एमालेको एकताका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब शेरबहादुर देउवाको पक्षमा १२३ जना सांसद मात्रै रहेको फेसबुक स्टाटस राखेका थिए।
थापाको स्टाटसपछि नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जालमार्फत अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने स्पष्ट पारेका हुन्।
‘हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ। यो व्याख्या गलत र अस्वीकार्य छ’, नेता नेपालले भनेका छन्, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु।’