काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आज (साेमबार)बाट विपक्षी गठबन्धनबाट बाहिरिएको छ ।
सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा पूनःस्थापना गर्ने फैसला गरेपछि बसेको विपक्षी गठबन्धनको बैठकमा नेपाल समूहले गठबन्धनमा नरहने घोषणा गरेको हो ।
विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधै सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन देउवालाई शुभकामना दिएका हुन् ।
बैठकपछि एमाले नेता रघुजी पन्तले वरिष्ठ नेता नेपालले बैठकमा राखेको धारणा उधृत गरेर पत्रकारहरुलाई भने- ‘संविधान, लोकतन्त्र र विधिको लागि मैले सधै लड्दै आएको छु । शेरबहादुरजीले सबैलाई समेटेर लैजानुपर्नेछ । बदलिएको परिस्थितिमा नेकपा एमालेसंग पनि पर्याप्त छलफल गरेर सहकार्यसहित अगाडि बढ्नुहुने विश्वास लिएको छु ।’
बैठकमा सरकार गठन र पावर सेयरिङका विषयमा छलफल भएको थियो । नेपालले सर्वोच्चको फैसलापछि एमालेको अहिलेको परिस्थितिमा परिवर्तन आउनसक्ने सम्भवना यथावत रहेको भन्दै सुझबुझपूर्ण ढंगले अगाडि बढ्न देउवालाई सुझाएको बताइएको छ ।
देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेबारे एमालेले सिंगो पँक्ति एक भएर निर्णय गर्ने उनले बैठकमा बताएका थिए ।