काठमाडौं- विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज नै सरकार बनाउने निर्णय गरेको छ । सोमबार कोटेश्वरमा बसेको बैठकले सरकार गठनका लागि आवश्यक तयारी गर्ने र सरकार बनाउने प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले सोमबार गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई पाँचदलीय गठबन्धनले स्वागत गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको थियो ।
अदालतको आदेशपछि राष्ट्रपति कार्यालय शितलनिवासले आजै देउवालाई प्रधानमन्त्रीको शपथ गराउने तयारी गरेको छ । आज देउवाले सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने बताइएको छ । गठबन्धनका प्रमुख घटक नेकपा एमाले माधवकुमार नेपाल पक्षले सरकारमा नजाने स्पष्ट पारेको छ ।
यस्तै जसपा र जनमोर्चाले पनि अहिले नै सरकारमा सहभागी हुन नसक्ने जानकारी देउवालाई दिएका छन् । त्यसैले देउवाले आज काँग्रेस र माओवादी केन्द्रका केही मन्त्रीसहितको सानो आकारको मन्त्रिपरिषद् मात्र निर्माण गर्ने तयारी गर्नुभएको छ ।
स्रोतका अनुसार काँग्रेसबाट बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की र गगनकुमार थापा मन्त्री बन्ने चर्चा छ । यस्तै माओवादी केन्द्रबाट गृहमन्त्री जनार्दन शर्मा, पम्फा भुसाललगायतका नेता सरकारमा जाने लगभग निश्चित भएको छ ।