गाेरखा- १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका गाेरखाका एकसहित ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो।
जिल्लाकाे तत्कालिन नारेश्वर गाविस वडा न ६ का राजुविक्रम शाहसमेत भेटिएकाे भन्दै आयोगले जनाएकाे छ । स्रोतका अनुसार उनी नेकपा एमालेका नेता वाचस्पति देवकोटाको कार्यकर्ता भएर काम गरेका थिए । तत्कालिन समयमा २०५५/५६ सालमा संसयदीय निर्वाचन भयो । एमालेका तर्फबाट गोरखा क्षेत्र न २ बाट हालका जिल्ला अध्यक्षसमेत रहेका प्रेम गुरूङ निर्वाचनमा उड्य । केहि मतान्तरले नेपाली कांग्रेसका कमला पन्तसंग पराजीत भए । त्यहिसमयमा जिल्लाको एक विद्यालयमा ठुलो झगडा पर्यो । त्यहि झगडाबाट घर नारेश्वरमा आएका शाह काठमाडौं हुदें अहिले भारतमा रहेको पारिवारिक स्रोतको दावी छ ।
स्रोत भन्छन्– ‘तत्कालिन समयमा वाचश्पति देवकोटाको कार्यकर्ता भएर हिडेको थियो । एक विद्यालयमा ठुलो झगडा परेपछि घर आएको छोरा धेरै समयसम्म सम्पर्कमा नआएपछि छोराको खोजी हुन थाल्यो । छोरोको खोजी भएको २० बर्षपछि विभिन्नमाध्यमबाट छोरा जिवित नै रहेको थाहा पाएपछि परिवारका सदस्य उनलाई भेट्न भारत गए ।’ स्रोतका अनुसार उनको परिवारले एकबर्ष अघि भारतमा गएर भेट गरेको थियौं ।
जिल्लामा बेपत्ताकाे सुचीमा ३३ जना सुचिकृत छन् । तर, लामो समय जिल्लामा शसस्त्र द्वन्द्वका समयमा तत्कालिन विद्रोही समुहमा रहेका एक नेताका अनुसार शाहको नाम कहिल्यै नसुनेको दावी गर्छन् । भन्छन्–‘जिल्लामा राज्यपक्षबाट बेपत्ता पारिएको सुचीमा २० जना हुनुहुन्छ । तर, हामीले उहाँको नाम कहिल्यै सुनेनौं । अहिले २१ बर्षपछि भेटियो भन्दा अचम्ममा परेका छौं । सरकार र विद्रोहिपक्षवीचको सहमतिपछि जिल्ला शान्ति समिति अन्य जिल्लामा २०६५ मा स्थापना भएको भएपनि गोरखामा भने २०६८ मा स्थापना भएको थियो । समिति मार्फत प्रमुख जिल्ला अधिकारी हुदैं बेपत्ताको विवरण यस्ता निकायमा पुग्ने गर्थ्यौं ।’
‘बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्, आयोगका अध्यक्ष युवराज सुवेदीले भने, ‘अध्ययन गर्दै जाँदा भेट्ने क्रम जारी छ, अरु पनि भेटिन्छन् भन्ने आयोगलाई विश्वास छ ।’
नेपालमा विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको भनेर आयोगमा उजुरी परेको थियो। सोही उजुरीको अध्ययन गर्ने क्रममा ३१ व्यक्ति फेला पारी हाल परिवारको सम्पर्कमा रहेका छन्।
आयोगमा परेका तीन हजार २२३ उजुरीमध्ये २३७ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको थियो। त्यसमध्ये १३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको थियो। साथै २८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखिएको थियो।
आयोगले दुई हजार ४९५ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ। उजुरीका आधारमा दुई हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ। आयोगका अनुसार दुई हजार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायतका काम सम्पन्न भएको छ। उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ।