गाेरखा- बजेट पारित गर्ने क्रममा गण्डकी प्रदेशसभामा एमाले सांसदले बैठक अवरोध गरेर उदण्डता प्रकट गरेकाछन् ।
बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना काटिएको भन्दै एमाले सांसदले टेबल उठाएर बजेटमाथिको छलफलमा अवरोध गरेका थिए ।
बजेटमाथि उठेका प्रश्नको जवाफ मुख्यमन्त्री दिनुपर्ने कार्यसूची रहेपनि सो अनुसार प्रक्रिया अघि नबढेको भन्दै एमाले सांसदले सदनभित्र नारावाजीसमेत गरे । तर, बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गर्न थाले । संसद अवरोध गरिरहँदा र नाराबाजीमा उत्रिएको बेला पूर्वमन्त्री तथा एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेबुल नै उचालेर फाले।
सरकारबाट हटेको एक महिनापछि नै उदण्डतामा उत्रेका सभासदको सार्वजनिक रुपले नै आलोचना भयो। आलोचनापछि बिहीबार नै एमाले संसदीय दलले पत्रकार सम्मेलनको आयोजना गर्यो। पत्रकार सम्मेलनमा टेबुल उचाल्ने मन्त्रीले आफूले टेबुल फालेको नभइ मिलाएर राखेको जिकिर गरे।
‘पत्रकार साथीहरु कसैले लेख्नु भएको छ भने सच्याउनु होला, त्यो कुनै नियतवश हैन। तपाईँहरु विचारमा कांग्रेससँग, माओवादीसँग, जनता समाजवादीसँग नजिक हुनु सक्नुहुन्छ। विचार जे छ, त्यही लेखेर कसैले वाहवाही भन्ला तर त्यो सत्य हुन सक्दैन’,उनले भने,‘ त्यहाँ भीडभाड थियो, कुर्सी हान्न नसक्ने हैन तर मिलाएर राखेको हो, गोडामा लाग्छ भनेर उता सारेको हो।’