काठमाडौं– नेपाली कांग्रेसको तल्लो तहको अधिवेशनको मिति फेरि सर्ने भएको छ। केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति केही समय सार्न लागिएको हो। बिहीबार बस्ने शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ।
वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए। साउन १२ बाट वडा तहको अधिवेशन गरी तल्लो तहका अधिवेशन सुरु गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो। तल्लो तहको अधिवेशनको मिति केही दिन पर सार्ने भनिएपनि कति दिन भन्नेबारे खुलाइएको छैन।
क्रियाशील सदस्यता छानबिन समितिले भोलि (बिहीबार) तोकिएकै समयमा क्रियाशील सदस्यता विवादको काम टुंग्याउने बताएको छ। क्रियाशील सदस्यता विवाद सम्बन्धी उजुरीलाई निष्कर्षमा पुर्याए पनि केही प्राविधिक विषय टुंगिन भने केही दिन लाग्ने समितिले जनाएको छ।
समितिले अब ३२ निर्वाचन क्षेत्रको सदस्यता विवाद टुंग्याउन बाँकी छ। समस्यामा रहेका क्षेत्रको पनि सुरुवाती अध्ययन गरिसकेको समिति प्रवक्ता पौडेलले जानकारी दिए।
धेरै विवाद देखिएका र छानबिन समितिले टुंग्याउन नसकेका निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवादमा १३औं महाधिवेशनकै क्रियाशील सदस्य यथावत रहने समितिले यसअघि नै जानकारी दिइसकेको छ। त्यस्ता विवादित ५७ वटा वडा रहेको र ती वडामा नयाँ क्रियाशील सदस्यताको विषय स्थगित भएको समितिले जनाएको छ।
यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि कांग्रेसभित्र महाधिवेशनका गतिविधि नै सुस्ताएका छन्। यसले कतै कांग्रेस महाधिवेशन निर्वाचनबाट नभइ सहमतिमै हुने हो कि भन्ने आशंका पनि छ। सबैभन्दा ठूलो र महत्त्वपूर्ण विषय क्रियाशील सदस्यताको नामावली भएकाले यसलाई टुंगोमा पुर्याए महाविधेशनको करिब ५० प्रतिशत काम सकिने पौडेल बताउँछन्। कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।