काठमाडौं– सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते बोलाउने निर्णय गरेको छ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले संसदका दुवै सदनको अधिवेशन साउन ३ गते आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाउन सिफारिस गर्ने निर्णय भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते प्रतिनिधि सभा पुन:स्थापनाको फैसला सुनाउँदै १ हप्ताभित्र अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो।
राष्ट्रिय सभाको पछिल्लो अधिवेशन भने गत असार १७ गते सुरु भएको थियो। तर, राष्ट्रपतिले यही असार २८ गते अधिवेशन अन्त्य गरिदिएकी थिइन्।