काठमाडौँ- अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि आज पहिलोपटक नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बस्नेछ।
सर्वाेच्च अदालतले यही असार २८ गते गरेको फैसलाअनुसार प्रतिनिधि सभा पुनःस्थापना र नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भएका हुन्। योसँगै अब संसदमा एमाले विपक्षी दल भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले माधव नेपाल पक्षका नेताहरूलाई पनि बैठकमा निमन्त्रणा गरिएको जानकारी दिए।
‘पार्टी जेठ २ (२०७५) मा फर्किएको हुनाले त्यसअनुसारका सदस्य सबैलाईं बैठकमा बोलाएका छौं,’ तामाङले भने, ‘सहभागी हुने नहुने त्यो उहाँहरूको पर्सनल कुरा भयो।’
एमालेका दुई पक्ष (ओली र माधव नेपाल) एकता पहलका लागि बनेको कार्यदलले यही असार २७ गते १० बुँदे सहमति जुटाएको छ। यस्तै ओलीले आजै एमालेको संसदीय दलको बैठक पनि राख्ने भएका छन्।
तामाङका अनुसार स्थायी कमिटीको बैठकपछि दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ। यसैबीच माधव नेपालले भने ओलीले बोलाएको संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने बताइसकेका छन्।