काडमाडाैं- राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम रहेको ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाउने बैठकले निर्णय गरेको छ । पुनस्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ ।
जसपाको यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीनजना राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताए । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा ३ सांसद छन् । पार्टीका अर्का अध्यक्ष महन्त ठाकुरको पक्षका केही सांसद पनि यादव पक्षमा आएको बताइएको छ ।
देउवा नेतृत्वको गठबन्धन सरकारमा आफ्नो पार्टीका तर्फबाट आठ जना मन्त्री मागेको छ। आठमध्ये सात जना मन्त्री र एक जना राज्यमन्त्री हुने छन्। जसपाको आधिकारिकतासम्बन्धी विवाद अहिले निर्वाचन आयोगमा विचाराधीन छ।
जसपाका अर्का अध्यक्ष ठाकुरपक्षले पनि आफू आधिकारिक भएको दाबी गरेकाले निर्वाचन आयोगले यसको छिनोफानो गरेपछि मात्र सरकारमा सहभागी हुने उपेन्द्र पक्षको तयारी छ। सरकारमा सहभागी हुन केही समय लाग्ने भए पनि आफूले पाउने मन्त्रालयहरुको टुंगो सकेसम्म चाँडै लगाउनुपर्नेबारे समेत शनिबारको बैठकमा छलफल भएको थियो।