काठमाडौँ- नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य वामदेव गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला अनुसार प्रतिनिधिसभाका सांसदहरुमाथि पार्टीको ह्विप नलाग्ने बताएका छन्। आइतवार बसेको राष्ट्रियसभा बैठकपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
‘पार्टीहरुले अब सांसदहरुलाई ह्विप लगाएर लाग्दैन, सर्वोच्च अदालतले नै सांसदहरुलाई स्वविवेकीय अधिकार दिएको छ। अब पार्टीहरुले कसले कसरी प्रयोग गर्छ दिनुपर्थ्यो’, एमालेले जारी गरेको ह्विपबारे टिप्पणी गर्दै उनले भने, ‘कुनै पनि हालतमा यसो गर्नुपर्छ गर्नु हुँदैन भन्नु सर्वोच्च अदालतले गरेको व्याख्या विपरीत भएको छ।’
एमाले उपाध्यक्षसमेत रहेका गौतमले पार्टीको निर्णय मान्ने र संवैधानिक इजलास मान्ने कुरा फरक फरक भएको बताए। ‘आज प्रतिनिधिसभाका सदस्यहरुले विश्वासको मत दिने हो। संवैधानिक इजलासले गरेको निर्णय संविधानको धारा अनुसार नै छ’, उनले भने, ‘सांसदहरुलाई स्वविवेकीय अधिकार प्रयोग गर्नु भनेको छ। संविधानको धारा ७६ (५) मा पुगेपछि सांसदहरु स्वेच्छाले भोट हाल्न पाउँछन्।’
उनले ह्विप नमान्ने सांसदहरुलाई दलहरुले निकालिदिए पनि सर्वोच्च अदालतले फर्काइदिने टिप्पणी गरे। ‘पार्टीबाट निकालिदिए पनि फेरि सर्वोच्चले पार्टीमा फर्काइदिन्छ। स्वविवेकीय अधिकार भनेको मतदान गर्नैपर्छ भन्ने होइन’, गौतमले भने, ‘सांसदहरुलाई त्यो अधिकार छ। सबै दलका सांसदलाई मतदान गर्ने नगर्ने स्वविवेकीय अधिकार छ। कुनै पनि पार्टीले आफ्ना सदस्यहरुलाई जसलाई जता दिन मन लाग्छ, मतदान गर्न दिनुपर्छ।’