काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर १५ जना सांसदले प्रधानमन्त्री देउवाको पक्ष र विपक्ष कतैपनि मत नदिने भएका छन्।
आन्तरिक छलफलपछि नेपाल पक्षका १५ जना सांसदहरु पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णयमा पुगेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मत दिने निर्णय गरेपछि नेपाल पक्षका सांसदहरु मत नदिने निर्णयमा पुगेका हुन्।
‘प्रतिगमनको पक्षमा उभिएका महन्थ ठाकुरहरुले पक्षमा मत दिने गर्नुभयो। हामीले पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्यौं,’ नेपाल पक्षका एक सांसदले भने।
नेपाल पक्षका केही सांसदले भने पार्टी एकतालाई जोगाउनका लागि देउवाको पक्ष र विपक्ष कतै पनि मतदान नगर्ने निर्णय गरिएको बताएका छन्।
सांसद यज्ञ सुनारले पार्टी एकता जोगाउनका लागि देउवालाई मत नदिने निर्णय भएको बताए। पक्ष/विपक्ष कतै पनि मत नदिने निर्णय गरेका एमालेका १५ जना सांसदहरु संघीय संसद भवन परिसरबाट बाहिरिएका छन्।
को को नेता तटस्थ ?
कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् ।