काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको अवमूल्यन नगर्न आग्रह गरेका छन्। दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभा बैठक सम्बोधन गर्दै उनले संविधानको अवमूल्यन नगर्न आग्रह गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भष्मासुर प्रवृत्तिले समस्या बनाएको बताए।
‘भष्मासुर प्रवृत्तिले आधा गिलासलाई पनि घोप्ट्याएको थियो। तर सर्वोच्च अदालतले सही बाटोमा ल्याइदिएको छ’, उनले भने, ‘सर्वोच्चको फैसला मैले पटक पटक पढेँ, त्यहाँ संविधानलाई ट्र्याकमा ल्याउने कुरा गरिएको छ।’
गत पुसदेखि ६ महिनायता भएका घटनालाई उनले ठूलो कलंक भने, ‘बितेका ६ महिनामा जुन परिघटना भए, त्यो ठूलो कलंक हो’, उनले भने, ‘जनप्रतिनिधि संस्थाको पटक पटक हत्या गरिन्छ भने त्यो मान्दैनौँ हामी। हामी पनि आत्मआलोचित बनौँ, जनताप्रति हामी उत्तरदायी छौँ।’
उनले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देशलाई अध्याँरो सुरुङमा धकेल्ने काम गरेको पनि आरोप लगाए। डा. भट्टराईले विकास गर्दा कहिले काहीँ भ्यागुतो झैँ उफ्रेर अघि बढ्न सक्नुपर्ने पनि बताए ।
उनले अदालतको फैसला नपढेको भए सबैलाई पढ्न पनि आग्रह गरे । ओलीलाई भष्मासुरको संज्ञा दिँदै भट्टराईले बालुवाटारबाट बिदा हुँदा सडकमा गरिएको तामझामले उनलाई झनै नाङ्गो बनाएको पनि दाबी गरे।