काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन्। आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन्।
विश्वासको मतको विपक्षमा ८३ जना सांसदले मत दिएका छन् । एकजना सांसद तटस्थ रहे । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए ।
एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन्।
देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानमा धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार उनले विश्वासको मत लिएका हुन्। तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले २८ असार २०७८ मा पुनःस्थापना गर्ने फैसला सुनाएको थियो।
प्रतिनिधि सभाका १४६ जना सांसदहरुले दायर गरेको रिटमा गरिएको मागदाबी अनुसार सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत परमादेशको आदेश जारी गरेको थियो।
सर्वोच्चको आदेशपछि देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले अब प्रतिनिधि सभाको यो कार्यकालभर सरकार चलाउनेछन्।