काठमाडौं– यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा तत्काल सञ्चालन नगर्ने भएको छ। विभागले काठमाडौं उपत्यकाका शैक्षिक संस्था स्कुल तथा कलेज सञ्चालनमा आएको दिनबाट मात्र लाइसेन्स आवेदन र ट्रायल परिक्षा खुलाउने निष्कर्ष निकालेको हो।
यसअघि साउन पहिलो सातादेखि खुलाउने तयारी भएको लाइसेन्स आवेदन कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआइसकेको भन्दै तत्काल नखोल्ने निर्णय गरिको हो।
नेपालमा पहिलो चरण कोरोना भाइरस फैलिएको समयमा पनि १० महिना बन्द भएको लाइसेन्स आवदेन स्कुल कलेज लगायतका सबै शैक्षिक संस्था सञ्चालन भएपछि मात्रै खुलेको विभागले जनाएको छ।
खुलेको ४ महिनामा समेत सञ्चालन हुन नसकेको लाइसेन्स आवेदन यो बर्ष दशै तिहारपछि मात्रै खुल्ने सम्भावना रहेको छ।
कोरोनाको कारण बीचमै लाइसेन्स आवेदन र ट्रायल परिक्षा रोकिएका कारण लाखौंको संङ्ख्यामा प्रयोगात्मक परिक्षाको पर्खाइमा छन भने कतिपयको निषेधाज्ञाकै समयमा यातायात भिजिट डेट, ट्रायल मिति तोकिएको थियो। यातायातले दिएको मिति कटेपछि सेवाग्राही अन्योलमा परेका छन ।
ट्रायल परीक्षालाई सरलीकृत गर्ने गरी ल्याइएको अंक प्रणाली पनि गत असारदेखि नै कार्यान्वयनमा आएपनि सेवा बन्दै अवस्थामा रहेकाले औपचारिक रुपमा सुरु हुन सकेको छैन।
स्मार्टकार्ड अभावले हाल स्मार्टलाइसेन्स छपाइ पूर्णरुपमा बन्द छ भने उपत्यकाको यातायात कार्यालयमा एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स सेवाग्राहिलाई उपलब्ध गराउन थालिएको छ ।