काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने सपना नदेख्न चेतावनी दिएका छन् ।
पार्टीको केन्द्रिय समिति बैठकलाई सम्वोधन गर्दै ओलीले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माअाेवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिलाई महाअभियोग लगाउने सपना नदेख्न चेतावनी दिएका हुन् ।
पार्टीको केन्द्रिय समिति बैठकलाई सम्वोधन गर्द ओलीले भने-‘मसँग अझै आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर उता लागेका सबैलाई आफ्नो राजनीतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु । एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु ।’
ओलीले भने, ‘म यो अन्तिम क्षणमा साथीहरुलाई भन्छु, पार्टी एकतामा आउनुहोस् । नत्र भोलि पुस्पलाल स्मृति दिबसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बस्छ र उचित निर्णय गर्छ ।’
वरिष्ठ नेता नेपालले वर्गविरोधि तथा कम्युनिष्ट विचार र जनताका विरोधिसँग साँठगाँठ गरेको आरोप ओलीले लगाए । नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिने उनले टिप्पणी गरे । अदालतको फैसला पनि संसारमै नयाँ रेकर्डका रुपमा रहने ओलीको भनाइ थियो ।