काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । माओवादीबाट मन्त्री बन्नेको नाम प्राप्त हुनेबित्तिकै उनले मन्त्रिमण्डल विस्तार गर्ने बताइएको छ ।
नयाँ सरकार गठन भएको करिव डेढ महिनासम्म पनि सत्ता साझेदार दलबीच मन्त्रालयको भागबण्डा नमिलेका कारण सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता साझेदार मध्येका प्रमुख दल काँग्रेस र माओवादी केन्द्रमा आन्तरिक भागबण्डा नमिलेका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
पार्टीभित्रै पनि आन्तरिक समीकरण मिलाउन नसकेपछि काँग्रेस नेता समेत रहेका मुख्यमन्त्री पोखरेलले गत साता काठमाडौँ पुगेर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गण्डकी प्रदेशको गाँठो फुकाइ दिन आग्रह गरेर फर्किएका थिए । मुख्यमन्त्रीले आग्रह गरेर फर्किएपछि काँग्रेसमा को–कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागेको बुझिएको छ ।
काँग्रेसले यतिबेला माओवादीको निर्णय कुर्दैछ । नयाँ सरकार गठन भएको लामो समय भइसकेकाले अब मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ गर्न नहुने पक्षमा सरकार रहेको सरकारका प्रवक्ता एवं सामाजिक विकासमन्त्री कुमार खड्काले बताए । उनले सत्ता साझेदार मध्येको माओवादी लगायतका दलसँग आज निर्णायक वार्ता गरेर मन्त्रिमण्डललाई पूर्णता दिने योजना रहेको बताए ।
मन्त्रीमा क–कसको चर्चा
गण्डकीमा नयाँ गठबन्धनको सरकार बनेपछि कांग्रेस र माओवादीमा मन्त्री बन्ने आकांक्षीहरु धेरै देखिएको छन् । कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगिएपनि सार्वजनिक गरिएको छैन । यद्यपि कांग्रेसका तर्फबाट विन्दु कुमार थापा मन्त्री बन्ने पक्कापक्की भएको छ ।
त्यसैगरी तनहुँका दोबाटे विश्वकर्मा, स्याङजाका मेखलाल श्रेष्ठ, भाग्वतप्रकाश मल्ल र बागलुङका मणिभद्र शर्मा कँडेलको सम्भावना रहेको छ । महिला सांसदलाई पनि एक मन्त्रालय दिइनु पर्ने मागसहित काँग्रेसका तर्फबाट गोरखाकी मनकुमारी गुरुङ, पर्वतकी ललितकला गुरुङ र नवलपुरकी ओमकला गौतम समेत मन्त्रीको दौडमा छन् ।
त्यसैगरी माओवादीबाट मन्त्री बन्ने आकांक्षीमा बागलुङका चन्द्रबहादुर बुढा, स्याङ्जाका दीपक घर्तीमगर, पाेखराका दीपक कोइराला र तनुहुँकी आशा कोइरालाको नाम पनि चर्चामा आएको छ ।