काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आम नागरिक, नेता, कार्यकर्ता, बुद्धिजीवी, आफन्त र शुभेच्छुकको व्यापक आग्रहका कारण आफूले सांसद पदको राजीनामा फिर्ता लिएको बताएका छन्।
आफूले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा कुनै आवेगमा नभई राष्ट्रिय हित र पार्टी एकताका लागि सोचीविचारीकनै दिएको तर सबै पक्षबाट फिर्ता लिन व्यापक आग्रह आएकाले त्यसको सम्मान गरेको उनको दाबी छ।
‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ,’ रावलले शुक्रबार अपराह्न भनेका छन्, ‘सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु।’
यही साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विमति भएपपिछ माधव नेपाल पक्षका मानिने नेता रावलले त्यस दिन प्रतिनिधि सभा बैठक सुरु हुनुअघि नै सभामुख अग्नि सापटकोटालाई सांसद पदबाट राजीनामा लेखेर दिएका थिए। तर त्यो स्वीकृत भइसकेको थिएन। आज (शुक्रबार) उनले त्यो फिर्ता लिएका हुन्।