काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन गर्ने गरी तयारी थाल्न निर्देशन दिएका छन् ।शुक्रबार विहान आफ्नो निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफलमा देउवाले भदौ १६ मा कुनै हालतमा महाधिवेशन हुने गरी काम थाल्न निर्देशन दिएका हुन् ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सभापतिज्यूले भदौ १६ गतेको मिति कुनै हालतमा पछाडि नसर्ने गरी, भदौ १६ गते महाधिवेशन उद्घाटन गरी सम्पन्न गर्ने गरी कुन कुन तहको कसरी के हेरफेर गर्दा हुन्छ तपाईंहरु सबैले मिलेर गर्न गराउनु भन्नुभयो ।’
तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने काँग्रेसको तयारी छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको देखिन्छ ।
क्रियाशील सदस्यता विवाद समयमा नटुंगिँदै पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने छ । काँग्रेसले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडा स्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।