काठमाडौं- नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजत प्राप्त प्रतिष्ठित प्रभु बैंक लिमिटेडले बित्तीय अनुशाशन विपरीत बैंकिङ कारोबार गरेको भेटिएको छ । कर्जा सूचना केन्द्रले बैंकको टंगालस्थित शाखा कार्यालयमा हात्ती एक्सन प्रालिको नाममा रहेको चल्ती खाता नम्बर १६२००१०१०३९०६३०००००१ लाई कालोसूचीमा राखेको थियो ।
सामान्यतया कर्जा सूचना केन्द्रको निर्देशनमा कालोसूचीमा राखिएको बैंक खाताको आर्थिक कारोबार रोक्का गर्नुपर्ने नियम छ । तर, बैंक कर्मचारी र खातावालाको मिलेमतोमा आर्थिक कारोबार भएको भेटिएको छ । कर्जा सूचना केन्द्रले १ माघ, ०७६ मा सो खातालाई कालोसूचीमा राखेको थियो । तर, त्यसपछि बैंक कर्मचारी तथा खातावालाको मिलेमतोमा २० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार भइसकेको छ । कर्जा सूचना केन्द्र र राष्ट्र बैंकको बिनियमावलीले यसलाई ‘बित्तीय अपराध’ मान्ने गरेको छ ।
सो खाताका संचालक सुरेश पाण्डेले आफ्नो व्यावसायिक साझेदारहरु रंजितकुृमार राउत र सत्येन्द्रकुमार मण्डललाई लिखितम् गरी हरहिसाब बापत तिर्नुपर्ने रकमका लाग चेक दिएका थिए । उनीहरु तीनै जना माछापुच्छ्रे पल्टिपर्पोज इन्भेष्टमेन्ट प्रालिका संचालक थिए । तर, हरहिसाब बुझेर राउत मण्डलले कम्पनीको शेयर पाण्डेलाई बिक्री गर्ने र त्यस बापत पाउनुपर्ने ४२ लाख ५० हजार रुपैयाँ पाण्डेबाट लिने गरी २७ चैत, ०७४ मा लखित सम्झौता भएको थियो ।
सम्झौता बमोजिम केही रकम पाण्डेले दिएका थिए । त्यसपछि मण्डललाई २५ साउन ०७६ र ५ असोज ०७६ मा गरी ५–५ लाख रुपैयाँको दुई वटा चेक दिएका थिए । त्यस्तै राउतलाई २० साउन ०७६ मा ५ लाखको चेक दिएका थिए । तीन वटै चेक क्लियरिङका लागि पठाउँदा खातामा पैसा नभएको कारण बैंकले भुक्तानी दिएको थिएन । पटकपटक बैंकमा चेक दाखिला गर्दा पनि रकम अभावमा चेक नसाटिएपछि दुवै (मण्डल र राउत) ले चेक अनादर (बाउन्स) का लागि बैंकलाई निवेदन दिएका थिए ।
त्यसपछि तीन वटै चेक बाउन्स गरी मण्डल र राउतले राष्ट्र बैंकमा उजुरी दिएका थिए । लगत्तै उनीहरुले कर्जा सूचना केन्द्रलाई समेत पत्राचार गर्दै पटक पटक ताकेता गर्दा समेत भुक्तानी पाउन नसकेको भनी कालोसूचीमा राख्न अनुरोध गरेका थिए । प्रमाणित कागजातसहित दुवैको उजुरी परेपछि कर्जा सूचना केन्द्रले पाण्डे संचालक रहेको हात्ती एक्सन प्रालिको खातालाई कालोसूचीमा राखेको हो ।
हात्ती एक्सनका संचालक पाण्डेको बदनियत
प्राप्त कागजातअनुसार नुवाकोटका सुरेश पाण्डे र धनुषाका रंजितकुमार राउत तथा सत्येन्द्रकुमार मण्डल शुरुका दिनमा माछापुच्छ्रे मल्टीपर्पोज इन्भेष्टमेन्ट प्रालिका सेयर साझेदार रहेको देखिन्छ । राउत र मण्डल दुवैलाई सो कम्पनीमा पाण्डेले नै लगानीकर्ताको रुपमा भित्र्याएका हुन् । तर, राउत र मण्डल लगानीकर्ता हुनुअघि नै कम्पनीको सेयर संरचनालाई लिएर मुद्दा परेको थियो । यो बिषय केही समयमा सल्टिएपछि राउत र मण्डलले सेयर लगानी गरे बापतको रकम र सेयर धनी भएर बसेको अवधिभरमा कम्पनीले गरेको नाफाको हिस्सासमेत लिने गरी कम्पनी छाड्न चाहेको देखिन्छ ।
राउत र मण्डलले कम्पनी छाडे बापत ४२ लाख ५० हजार रुपैयाँ पाउने र उनीहरु दुवैको सेयर पाण्डेले खरिद गर्ने गरी हरहिसाब गर्ने सहमतिअनुसार २७ चैत, ०७४ मा लिखित करारनामा भएको थियो । सो करारनामा अनुसार राउत र मण्डलले पाउनुपर्ने ४२ लाख ५० हजार रुपैयाँ एकमुष्ट नभई चार किस्तामा पाण्डेले दिने शर्त राखिएको थियो । सबै रकम चुक्ता भएपछि मात्रै राउत र मण्डलको नाममा रहेको सेयर पाण्डको नाउमा स्थानान्तरण हुने उल्लेख छ ।
करारनामा अनुसार पहिलो तीन किस्ता १०–१० लाख रुपैयाँका दरले ०७५ को बैशाख, जेठ र असारमा भुक्तानी गर्ने तथा अन्तिम किस्ता बापतको १२ लाख ५० हजार रुपैयाँ भदौ १५ सम्म तिरिसक्नुपर्ने शर्त थियो । शर्तअनुसार पाण्डेले केही रकम दिएको राउत बताउँछन् । ‘पाण्डेजी राम्रै चिनजानको मान्छे हो । त्यसैले विश्वास गरेर आर्थिक कारोबार गर्नका लागि लिखित सम्झौता ग-यौ, उनले भने, ‘शुरुका दिनमा उहाँ (पाण्डे) ले पैसा पनि दिदै जानुभयो तर अन्तिममा केही रकम बाँकी रहेको अवस्थामा दिन चाहनु भएको छैन ।’
१५ लाख रुपैयाँको तीन वटा चेक दिए पनि बैंकमा पर्याप्त मौज्दात नभएको भनी बाउन्स भएको उनले बताए । चेक बाउन्स गरेर कानुनी प्रक्रियाअनुसार पैसा प्राप्तिका लागि लडाई जारी गरेको उनले बताए । ‘हामीले लगानी गरेको पैसा फिर्ता मागेका हौं । अरु केही होइन’ उनले भने ।
उनले प्रभु बैंकबाट पनि रकम प्राप्तिका लागि असहयोग भएको बताए । ‘हामीले पैसा लिन जाँदा पर्याप्त मौज्दात नभएको भनेर दिइएन । पछि बाउन्स पनि ग-यौं’ उनले भने, ‘प्रभु बैंकलाई पनि यसबारे जानकारी दिएका तर उनीहरुबाट असहयोग भएको छ’ राउतले भने ।
प्रभु बैंक, राष्ट्र बैंक र अख्तियारसम्म उजुरी
चेकमा उल्लेखित रकम पाउनका लागि चेक बाहक राउत र मण्डलले प्रभु बैंक, राष्ट्र बैंक, कर्जा सूचना केन्द्र हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी दिएका छन् । तर, प्रभु बैंकबाटै असहयोग भएको राउतले गुनासो गरे । राउतले चेकमा तोकिएको रकम पाउन नसकेपछि प्रभु बैंक, हरिवन (सर्लाही) मा ४ कात्तिक, ०७६ मा उजुरी दिएका थिए । उनले ५ लाखको चेक पाण्डेबाट २० साउन ०७६ मा लिएका थिए ।
तीन महिनासम्म चेक नसाटिएपछि बाध्य भएर बैंकमा उजुरी दिन गएको उनले बताए । ‘बैंकलाई पत्र लेख्दै चेकमा उल्लेख भएको रकम खातामा जम्मा गर्न आलटाल गरेको हुँदा सो खाता रोक्का गरी कारबाही प्रक्रिया अघि बढाई पाउँ भनेर मैले उजुरी दिएको थिएँ’ राउतले भने, ‘तर, बैंकले सुनेको नसुन्यै ग-यो ।’
राउतको जस्तै मण्डलको पनि चेक नसाटिएपछि दुवै मिलेर २१ पुस ०७६ मा कर्जा सूचना केन्द्रमा उजुरी दिएका थिए । उनीहरुले सबै प्रमाण जुटाएर पाण्डेको हात्ती एक्सन प्रालिको नाममा रहेको खाता कालोसूचीमा राख्न आग्रह गरेका थिए । कर्जा सूचना केन्द्रले राउत र मण्डलको उजुरी लिदैं आवश्यक छानबिनपछि पाण्डेको हात्ती एक्सन प्रालिको दोष ठह-याउँदै १ माघ, ०७६ मा कालोसूचीमा राख्ने निर्णय गरेको थियो । र, प्रभु बैंकलाई सोहीअनुसार परिपत्र जारी गरेको थियो ।
तर, प्रभु बैंकका कर्मचारीले पाण्डेसँगको मिलेमतोमा सो खाताबाट आर्थिक कारोबार निर्वाध रुपमा गराइरहेका छन् । १५ लाख रुपैयाँको तीन वटा चेक बाउन्स गराएर कालोसूचीमा राखिएको खाताबाट मिलेमतोमा कारोबार गरी बैंकका कर्मचारीले आर्थिक अपराध गरेका छन् ।
पाण्डे र बैंक कर्मचारीको मिलेमतोमा कालोसूचीमा राखिएको खाताबाट आर्थिक कारोबार भएको बिषयमा राउत र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन् । आयोगले उजुरी प्राप्त भएको र अनुसन्धान थालिएको जनाएको छ ।