काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यमन्त्रीमा आफूनिकट नेतालाई नै नियुक्त गर्ने तयारी गरेका छन्। शिक्षालगायत क्षेत्रका व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि विवादमा परेका प्रधानमन्त्रीले स्वास्थ्यमा मन्त्री नै नियुक्त गर्ने तयारी गरेका हुन्।
स्वास्थ्यमन्त्रीमा कांग्रेसभित्र कृष्णप्रसाद सिटौलानिकट उमाकान्त चौधरीको चर्चा चलेको थियो। चौधरी मन्त्री बन्ने निश्चित जस्तै बने पनि अब उनले कुन मन्त्रालय पाउँछने भन्ने टुंगो लागेको छैन।
स्वास्थ्य राज्यमन्त्री नियुक्त उमेश श्रेष्ठ प्रधानमन्त्री देउवानिकट रहेकाले मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिने सम्भावना रहेको छ । त्यसका लागि कानुन पृष्ठभूमिबाट आएकी कांग्रेस नेता पुष्पा भुसाललाई कानुनमन्त्रीको जिम्मेवारी दिएर कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको छ। कार्की अहिले कानुनमन्त्रीसँगै सरकारको प्रवक्ताको जिम्मेवारीमा छन्।
गठबन्धनका अन्य दल र पार्टी भित्रका समूहले आफ्नो पक्षका नाम सिफारिस गरेको अवस्थामा बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरेर मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीको तयारी छ। बिहीबार मन्त्रालय भागवण्डा र नाममा सहमति हुन नसके शुक्रबार शपथ हुने छ।