गोरखा- सडक मर्मतमा ठेकेदारले वेवास्ता गरेको भन्दै गोरखामा जनप्रतिनिधि र स्थानीयले बिरोध स्वरुप सडकमै कोदो रोपेका छन् । गोरखा नगरपालिका-४ लाकुरीस्वाँरा स्थित गोरखा–आरुघाट सडकखण्डमा बिहीवार उनीहरुले कोदो रोपेर विरोध जनाएका हुन् ।
जिल्ला सदरमुकाबाट उत्तरी गोरखासहितका स्थानीय तह जाेड्ने गोरखा-आरुघाट सडकखण्ड बाँनिया कन्स्ट्रक्शन निर्माण सेवा, हटौँडाको बदमासीका कारण अलपत्र परेको हाे । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि अवरुद्ध सडकखण्ड चाँडाे निर्माण कार्य सक्न दवाव दिन वडाअध्यक्षसहितका जनप्रतिनिधिकाे टाेलीले सडकमा नै काेदाे राेपेका हुन् ।
‘नगरपालिकाभित्रै मूल सडकमा अहिले एम्बुलेन्ससम्म पनि गुड्न सक्ने अवस्था छैन’, वडाध्यक्ष रामशरण अधिकारीले भने, ‘ठूला सवारी साधानसमेत घण्टौं फस्ने गरेका छन्, अझै कति समय नागरिकले हैरानी खेप्नुपर्ने हो, थाहा छैन ।’
जिल्लाकाे दोस्रो ठूलो व्यापरिक केन्द्र आरुघाट बजारसम्म जोडिने मूल सडक भएकाले पूर्वाधार विकास कार्यालयले बर्खाका बेला कम्तीमा एक लेन चल्ने सक्ने अवस्थामा बाह्रै महिना सवारी आवागमनमा कुनै समस्या नहुने गरी काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि अटेरी गरेको कार्यालयका इञ्जीनियर गणेश सुवेदीले जानकारी दिए ।
‘सडक निर्माणका जिम्मा लिएपछि निर्माण कम्पनीले नियमित सवारी चल्ने अवस्थामा सडकलाई राख्नुपर्छ’, उनले भने, ‘यसका लागि कार्यालयले बारम्बार लिखित तथा मौखिकरूपमा ठेकेदार कम्पनीलाई त्यहीअनुसारको निर्देशन दिएका छौँ, तर उनीहरुले हेलचक्र्याइँ गरिरहेका छन् ।’ जनप्रतिनिधि र स्थानीयवासीले कोदो रोपाइँ गरेको स्थानमा बर्खामा एक लेन मात्र पनि ढलान गरेर सक्न कार्यालयले निर्देशन दिएको भए पनि ठेकेदारले अटेरी गरेको उनले बताए ।
करिब ८ करोड ५० लाख रुपैयाँको लगानीमा हस्पिटलचोकबाट आहाले फिनाम लाकुरीबोटसम्म ४.६ किलोमिटर सडक निर्माणको कन्स्ट्रक्शनले पाएको छ । ठेकेदारको लापरवाहीका कारण अहिले थोरै वर्षा हुनेबित्तिकै साना तथा ठूला सवारीलाई चल्न सक्दैनन् ।
दैनिक दर्जनौं सवारी साधन र यात्रुले हैरानी खेप्नुपरेको भए पनि स्थानीय जनप्रतिनिधिले चासो नलिएको जनाउँदै सर्वसाधारण र यात्रुहरुले चर्को विरोध गरेपछि जनप्रतिनिधिले विरोधस्वरुप ठेकेदार कम्पनी र आयोजना कार्यालयको ध्यानकर्षंण गराउन कोदो रोपाइँ गरेका हुन् ।
बाँनिया निर्माण सेवा : दराैंदीमा अवैध दाेहन, अलपत्र सडक
गोरखा नगरपालिकाले आर्थिक बर्ष २०७६/७७ मा दराैंदी नदी क्षेत्रमा सार्वजनिक सुनुवाइविना नदिजन्य पर्दाथ उत्खनन् गर्न ठेक्का लगाएपछि असार १८/ १९ गतेबसेको नगरपालिकाको बैठकले निर्णय गरेको भन्दै विवादीत ठेकेदार कम्पनीका मालिक तथा नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापतिसमेत रहेका बाग्मती प्रदेशका सांसद इन्द्र बानिँयाको कम्पनीलाई नदीजन्य पर्दाथ उत्खननको अनुमति दियाे।
पालुङटार नगरापालिकाकाे क्षेत्रमा नगरपालिकाले क्षेत्रधिकार नाधेर नदीजन्य पर्दाथ निकाल्न निकाल्न अनुमति दिएकाे हाे । ठेकेदार कम्पनीले नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवा उत्खनन् संकलन तथा विक्री सम्बन्धी कार्य गर्न अनुमति पाएपनि उसले ठेक्का हात पारेकाे सडकखण्ड भने अलपत्र छाडेकाे छ ।
प्रालीले ३८ लाख ६४ हजार ९ सय बयालिस रुपैयामा सो नदीजन्य पर्दाथ निकाल्न ठेक्का पाएको हो । नगरपालिकाकाले नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का पाएको कम्पनीलाई पुलको संरक्षण गनु भन्दै साउन महिनामा मात्रै एकहजार घनमिटरसम्म नदिजन्य पदार्थ निकाल्नु भन्दै अनुमति दिएको हो ।
कम्पनीले दराैंदीमा अवैध तरिकाले नगरपालिकाका मेयर राजनराज पन्तकाे मिलेमत्ताेमा अवैध तरिकाले दाेहन गरिरहेकाे छ । दराैंदी दाेहन गरि निर्माण कम्पनीले आफ्नो ठेक्का लगाएका ठाँउमा काम नगरि अन्य ठाँउमा निर्माण सामाग्री बेचेकाे स्रोत दावी गर्छ ।
स्रोतका अनुसार ४ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का पाएको निर्माण कम्पनीले करिब ४० लाखमा घाट नै किनेको छ । उसले यो घाटबाट अवैध रूपमा दरौंदी नदि उत्खनन् गरि निर्माण साम्रागी अन्य निर्माण कम्पनीलाई बेच्नेकाे चर्चा चलेकाे छ ।
कम्पनीलाई यस कार्यका लागि नगरपालिकाका प्रशासकीय अधकिृत दिनेशराज पन्त, जिल्ला जिल्ला समन्वय समितिका सभापति अशोककुमार गुरूङ तथा नियामक निकायको मिलेमत्तोमा अवैध तरिकाले नदि उत्खनन गर्न अनुमति दिएका छन् ।
हरेक ६/६ महिनामा जिल्लाका विभिन्न खोलामा अनुगमन गर्नु पर्नेमा समितिले कोरोनाको बाहानामा अवैध तरिकाले नदी उत्खनन गर्न दिएको हो । अझ जिल्लामा सञ्चालित अवैध क्रसर निरन्तर उनीहरूकै सक्रियतामा अवैध तरिकाले सञ्चालन भईरहेको छ ।