काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन्।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार राजधानीमा सम्बोधनका क्रममा ओलीले अखिल फोर्सको राष्ट्रिय भेलामा नेता नेपाल सहभागी हुँदै गर्दा यस्तो बताएका हुन्। ओलीले नेता नेपाललाई कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिए।
त्यस्तै उनले थप भने, ‘नेकपा एमालेको सरकार ढाले । लगभग दुई तिहाइको पार्टी फुटाए । एमालेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर लोकतन्त्र र संविधानको रक्षा गरेको भनेर भ्रम फैलाइएको छ ।’
त्यस्तै, अध्यक्ष ओलीले पार्टी एकता र राष्ट्रियताको पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन दिदै पार्टी एकता असफल नभएर प्रचण्ड, माधवलगायत केही मान्छेहरुले पार्टी छाडेका आरोप समेत लगाए । साथै, आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दाबी गर्दै उनले भने, ‘पार्टीमा खुट्टा तान्नेहरु कोही छैन । अब सजिलै बहुमत ल्याउन सकिन्छ ।’