काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन भएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा चयन गरेको हो । बैठकमा २१ जना सांसद उपस्थित थिए।
जसपाका नेता मोहम्मद इस्तियाक राईले अध्यक्ष यादव सर्वसम्मत रूपमा दलको नेता चयन भएको जानकारी दिएका छन्। यससँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गठबन्धन सरकारमा जसपाबाट यादवले नेतृत्व गर्ने पक्का भएको छ।
जसपाले दलको नेता चयन गरेसँगै अब देउवालाई मन्त्रिपरिषद् विस्तारका लागि पनि सजिलो भएको छ। जसपाले दलको नेता चयन गरेसँगै उसको भागमा परेका मन्त्रालयमा पठाउने अनुहारको पनि टुंगो गर्नेछ।
जसपा र माओवादीले सूची पठाएपछि देउवाले मन्त्रिमण्डल विस्तार गर्नेछन्। सम्भवत: अबको केही दिनमा मन्त्रिमण्डल विस्तार हुनेछ। जसपालाई देउवा सरकारमा कम्तीमा चार मन्त्रालय मिल्दैछ। तर जसपाले ६ वटा चाहिने अडान राखेको छ।
राईका अनुसार संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रस्ताव र सांसद महेन्द्र यादवको समर्थनमा यादवलाई दलको नेतामा चयन गरिएको जानकारी दिए। महन्थ ठाकुर पक्ष पार्टीविहीन भएको अवस्थामा दलको नेता चयन भएसँगै यादव झन् शक्तिशाली बनेका छन्।
जनता समाजवादी पार्टी नेपाल को संसदीय दलको बैठक ले जनता समाजवादी पार्टी नेपाल को संसदीय दल को नेतामा माननीय उपेन्द्र यादव ज्यु सर्वसम्मति बाँट निर्वाचित हुनु भएको छ।मा उपेन्द्र यादव ज्यु लाई धेरै धेरै बधाई। pic.twitter.com/RpyI3cGaJg
— Pradeep Yadav (@MP_pradeepyadav) July 31, 2021