काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको कदममा आत्मालोचना गरेर माफी नमागेसम्म भेटवार्ता नहुने बताएका छन् ।
पार्टी एकताको पक्षमा लागि रहेका एमालेका दोस्रो पुस्ताका नेताका अनुसार नेता नेपालले अध्यक्ष ओलीले आत्मालोचना नगरेसम्म भेटवार्ता गर्न नसकिने सर्त राखेका हुन् ।
बहुमत प्राप्त सरकार हुँदाहुँदै पनि प्रतिनिधि सभा विघटन गर्नु गलत भएको ओलीले स्वीकार गर्नुपर्ने र यदि यसो भएमा उनीसँग भेटवार्ता गर्न सकिने नेपालको सर्त रहेको नेता रघुजी पन्तले बताएका छन् ।
नेकपा अध्यक्ष ओली प्रधानमन्त्री हुँदा २०७७ पुष ५ मा र २०७८ जेठ ७ मा २ पटक प्रतिनिधि सभा विघटन गरेका थिए । उनको दुवै पटकको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै पुनर्स्थापना गरेको थियो ।
प्रतिनिधि सभा पुनर्स्थापना पछि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत दिएर पार्टीबाट लाल गद्दार र कम्युनिष्ट आन्दोलन विरोधी लगायतको आरोप खेपिरहेका नेता नेपाल यतिबेला देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने दवाबमा रहेका छन् ।
ओली-नेपालबीच शक्ति बाँडफाँट लगायतका पक्षमा सहमती जुटाउने तयारी भएको पनि पन्तले बताएका छन् । मंगलबार ओली-नेपालबीच भेटवार्ता गराउने तयारीमा लाग्दा नेता नेपालबाट उक्त सर्त आएको बताइएको छ ।