काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद् नारायणकाजी श्रेष्ठले दार्चुला घटनाका सन्दर्भमा भारतले नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै श्रेष्ठले दोषीमाथि कारबाहीको माग पनि गरे।
‘यसप्रकारको अमानवीय, उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछु। यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु। दोषी व्यक्तिमाथि तत्काल कारबाही गर्न माग गर्दछु। र अबका दिनमा यस प्रकारका हेपाह, उत्पीडनकारी व्यवहार अन्त्य गर्न र नदोहोर्या उन म जोडदार माग गर्दछु’, उनले भने।
उनले भारत सरकारले अब आइन्दा यस प्रकारका गल्ती दोहोर्या।इने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्न पनि उनले अनुरोध गरे। अहिले नेपालमा आन्तरिक राजनीतिको कारणले पार्टीहरुका बीचमा केही मतभेद देखापरेका भए पनि आवश्यकता पर्दा सारा नेपालका राजनीतिक पार्टीहरु, नेपालका सबै सामाजिक शक्तिहरु, सम्पूर्ण नेपाली जनताहरु राष्ट्रियताको पक्षमा एक ढिक्का भएको श्रेष्ठको भनाइ थियो।
‘अब पनि एक ढिक्का हुन्छन्। त्यसैले हामी नेपाललाई हेप्ने, अतिक्रमित गर्ने, नेपालीप्रति दुर्व्यवहार गर्ने कुनै काम कसैले नगरोस् र सच्याओस् भनेर अनुरोध र अपिल गर्न चाहन्छौं’, उनले भने।
श्रेष्ठले नेपाल सरकारले छानबिन समिति बनाएर परिपक्व कूटनीतिद्वारा यस समस्याको संवादद्वारा समाधान गरौं र आवश्यकता पर्दा जे कदम चाल्नुपर्छ, सबै कदम चाल्ने दृढता प्रकट गरेको उनको भनाइ छ।
‘सामान्यतया नीतिगत रुपमा त्यो ठीकै छ। तर यो ढिलो भयो। नेपाल सरकारको म गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। छानबिन समितिको रिपोर्ट छिटो ल्याएर छिटोभन्दा छिटो आफ्नो तर्फबाट भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने र दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई उचित राहत र भरथेगको व्यवस्था गर्न तत्काल कदम चालोस् भन्ने माग गर्न चाहन्छु’, उनले भने।
भिडियाे