काठमाडाैं- नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।
बैठकमा सहभागी हुन बाहिरी जिल्लामा रहेका केन्द्रीय सदस्यसमेत काठमाडौं आइसकेका छन्। परिवर्तित राजनीतिक घटनाक्रमका विषयमा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न बैठक बोलाइएको नेपाल पक्षले जनाएको छ।
अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।
माधव समूहले पार्टी फुटाएर जान केन्द्रीय कमिटीको म्यान्डेट लिनका लागि बैठक राखेको एमालेको केपी ओली पक्षको बुझाइ छ । माधव नेपाल पक्ष कसरी अगाडि बढ्छ भन्ने टुंगो लागिसकेको छैन । तर यो समूहले छुट्टै बैठक बोलाएपछि एमालेमा हुँदै आएको एकता प्रयास अवरुद्ध भएको र मिल्ने सम्भावना कम हुन थालेको विश्लेषण हुन थालेको छ ।