काठमाडौं- माधव नेपाल पक्षीय नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा जारी रहेको छ । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् ।
बिहान ११ बजे बस्ने भनेको बैठक स्थायी कमिटीमा छलफल गर्नु परेका कारण झण्डै ४ घण्टा ढिला शुरू भएको हो । आजको बैठकमा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि उपस्थित छैनन् । बैठकमा भर्खर माधव नेपालले सम्बोधन शुरू गरेका छन् ।
दुवै नेता कन्ट्र्याक ट्रेसिङमा परेका कारण उपस्थित हुन नसकेको जानकारी दिइएको छ । बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित रहेको र केही उपत्यकाबाहिर रहेकाले छुटेका दावी नेपाल पक्षले गरेको छ ।
एकताको विकल्प छैन, १० बुँदे नै आधार हो : भीम आचार्य
एमालेका सचिव भीम आचार्यले पार्टी एकताको विकल्प नरहेको बताएका छन्। बिहीबार बानेश्वरमा बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव नै एकताको आधार भएको बताए।
‘यसबीचमा अध्यक्ष कमरेड ओलीबाट आएका केही अभिव्यक्ति र तत्लो तहसम्मका गतिविधिले असर गरेको हो। कमजोरी सबैबाट भएका होलान् तर, एकताको विकल्प छैन’, आचार्यले भने। उनले पार्टीको दुवै समूहभित्र १० बुँदे सहमतिलाई लिएर केही ‘अपूर्ण’ महसुस भएपनि समग्रमा त्यो नै एकताको आधार भएको बताए।
‘म हस्ताक्षर गर्ने मान्छेकै केही असन्तुष्टी छन्। शब्द, अक्षरमा मान्छेकाका अलिअलि तलमाथि त हुन्छन्। त्यसमा केपी ओलीका पनि असन्तुष्टी छन्। हामी हस्ताक्षर गर्ने साथीहरूकै असन्तुष्टी छन्। सबैको सबै कुरा मिल्दैन। तर, यो त कम्प्रमाइज भएर हुने हो नि! समग्रमा यो १० बुँदे एकताको आधार हो’, आचार्यले भने।