काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् । बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारेका हुन् ।
‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन’, उनले भने, ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियतबिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’
उनले थपे, ‘त्यसकारण सोचविचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु ।’ उनले ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको पनि जिकिर गरे । ‘हामी सबै साथीहरु एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ । एकताकै लागि केपी ओलीकै मान्छेहरु पनि आएर मसँग बारम्बार छलफल गरिरहेका छन्’, नेपालले बैठकमा भने, ‘तर एकलौटी ढंगले केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन ।’
एकता कसरी गर्ने भन्नेबारे हाम्रा कार्यदलमा रहेका नेताहरुले होमवर्क गरिरहेको उल्लेख गर्दै नेपालले ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको बताए ।