काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार संख्या पुगेको छ ।
नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट ३ जेठ २०७७ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार पहिलो लहरमा ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा युवाले पनि ज्यान गुमाए । ९ वर्ष तलका ४५ जनाले ज्यान गुमाएका छन् ।
तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने सरकारको अनुमान छ । जसको तयारीका लागि सरकारले १८० भेन्टिलेटरसहितको २७५ आइसीयू बेड थप्ने प्रक्रिया थालनी गरेको छ ।
सरकारले आगामी ५ महीनामा थप २ लाख संक्रमित थपिने प्रक्षेपण गरेको छ । साथै, असोज १५ गतेको छेकोमा तेस्रो लहर आउन सक्ने अनुमान पनि सरकारको छ । दोस्रो लहर समेत २० प्रतिशतभन्दा तल घट्न सकेको छैन । सार्क मुलुकमा नेपालको मृत्युदर भारत, भुटान, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी छ ।