काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार ठहर्याएको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति वैठक आज ४ बुँदे निर्णय गर्दै सम्पन्न भयो । बैठकपछि पत्रकारसँग बोल्दै स्थायी कमिटी सदस्य नेता रघुजी पन्तले आफ्नो समूह सरकारमा नजाने बताए ।
बैठकले आजसम्म भएका सबैखाले सहमतिलाई आधार मानेर एकताप्रक्रिया अझ परिष्कृत बनाउने र संवादलाई निरन्तरता दिने निर्णय गरेको उनले जानकारी दिए । बैठकले एकता प्रक्रियामा अवरोध हुने गरी पार्टी सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न समेत संस्थापन पक्षसंग आग्रह गरेको छ ।
नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । ‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ,’ उनले भनेका छन् ।
नेताहरुले केपी ओलीले हामीले अलमल्याउन खोजेको त होइन भन्ने आशंका व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु ।’ पार्टी एकताका लागि प्रयत्न गर्नुपर्ने भन्दै उनले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।