काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमण भएको बताएको छ ।
माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो । हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं घोर निन्दा गर्दछ ।’
राजनीतिको यो हदको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई अपील गरेको पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए ।
साविकको नेकपाबाट निर्वाचित खत्रीले १९ वैशाखमा माओवादी केन्द्र रोज्ने निर्णय गरेकी थिइन् । तर १५ साउनमा आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ल्याएर बन्धक बनाएको, एमालेमा फर्किएको भनेर वक्तव्य जारी गर्न लगाएको र २० गते आफू त्यहाँबाट भाग्न सफल भएको भन्दै वलीले बिहीबार पत्रकार सम्मेलन गरेकी थिइन् । एमाले र प्रदेश सरकारले भने त्यसको खण्डन गरेको छ ।
सुकुम्बासीलाई जग्गा दिन उच्चस्तरीय आयोग बनाऊँ
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको भूमि समस्या समाधानसम्बन्धी आयोग खारेज गरिएपछि सत्ता साझेदार माओवादीले अर्को उच्चस्तरीय आयोग बनाउन भनेको छ। माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय आयोग बनाउन सरकारलाई आग्रह गरेको पार्टी प्रवत्ता श्रेष्ठले जानकारी दिए।
‘संविधान र कानुनका आधारमा सुकुम्बासी, भूमिहीन, किसान, दलित र अव्यवस्थित बसोबासीहरुलाई सम्बोधन गर्न अविलम्ब उच्चस्तरीय आयोग बनाउन बैठकले आग्रह गरेको छ’, नेता श्रेष्ठले भने।
सरकारले छिट्टै पूर्णता पाँउछ : प्रवत्ता श्रेष्ठ
बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको पनि श्रेष्ठले जानकारी दिए। बैठकका निर्णयहरु सार्वजनिक गर्दै नेता श्रेष्ठले सरकारले छिट्टै पूर्णता पाउने आशा पनि व्यक्त गरे। नेता श्रेष्ठले आफ्नो पार्टीले कतिवटा र कुन मन्त्रालय पाउने भन्ने निर्णय भइनसकेको बताए। ‘मन्त्रालय कति र कुन-कुन पाउने निर्णय भएको छैन। प्राप्त संख्या र मन्त्रालय निश्चित भएपछि पार्टीमा कुरा हुन्छ,’ उनले भने।