काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन पटकपटक सारिएकोप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
तोकिएको समयमा पार्टीको १४औं महाधिवेशन नहुने निश्चित जस्तै भएसँगै वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत पार्टीलाई निरीह अवस्थामा पुर्याएको भन्दै नाम नलिईकन सांकेतिकरुपमा सभापति शेरबहादुर देउवा नेतृत्वको आलोचनासमेत गरेका छन्। नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका देउवालाई असफल व्यक्तिको संज्ञासमेत दिएका छन्।
नेतृत्वकै कारण अहिलेको अवस्था सिर्जना भएका वरिष्ठ नेता पौडेलको भनाइ छ। पार्टी सभापति देउवाले पार्टीलाई असफलतातिर लगेको आरोपसमेत पौडेलले लगाएका छन्।
सभापति देउवाकै कारण अहिले पार्टी निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुगेको पौडेलको भनाइ छ। ‘कांग्रेसको विधानबमोजिम ४ वर्षभित्र महाधिवेशन गर्नुपर्नेमा असाधारण परिस्थिति भनेर एक वर्ष थपियो,’ उनले भनेका छन्, ‘त्यसपछि पनि संविधानको आडमा अरू ६ महिना बढाइयो। यसभित्र पनि महाधिवेशन नगरेर अहिले निर्वाचन आयोगसँग हारगुहार गर्नुपर्ने निरीह स्थितिमा पार्टीलाई पुर्याएको छ।’
पार्टी अहिलेको अवस्थामा पुग्नु नेतृत्वको चरम असफलता रहेको उनकोे भनाइ छ। उनले देउवाप्रति संकेत गर्दै अगाडि भनेका छन्, ‘यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्।’