काठमाडाैं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठवन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका हुन् ।
मंगलबार अवेर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका लुम्बिनीका जसपा सांसद सन्तोष कुमार पाण्डेले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्री थप अप्ठेरोमा परेका हुन् ।
एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनमा प्रदेशप्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
सत्तामा टिक्न यसअघि सबै हर्कत गरेका मुख्यमन्त्री पोखरेलसँग अब भने राजीनामा दिएर सरकारबाट बाहिरिने वा अविश्वासको प्रस्तावबाट हट्नुबाहेक अर्को विकल्प नभएको दाबी विपक्षी गठबन्धनले गरेका छन्।
प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।