खाडी आएको धन्नै ४ बर्ष हुन लागेछ । म सगैका साथीहरू ठूलो पार्टीको नेता प्रधानमन्त्री भैसकेका ब्यक्तिसंग कुममा कुम जोड्याएर फोटो खिचेर पोस्ट गर्दा मलाई पनि कहिले नेपाल जाउँ जस्तो भैरहेको छ। जन्मदिनको शुभकामना पाउन/ बिबाह बर्षगाठको शुभकामना पाउन र कुनै ठाउँको ठेक्कापट्टा पाउँदा र कुनै सामाजिक क्षेत्रमा काम गर्दा र केही नियुक्त पाइयो भने नेता सगै जोडिएको अजङ्गको फोटोले ठूलो काम गर्ने रहेछ।
म त हैसियत बिर्सन हुन्न भनेर फोटो खिच्ने खादा लगाउने परिपाटीबाट टाढा रहन्छु भन्थे होईन रहेछ। यदि म ठुला नेतासंग बडेमानको सोफामा पाँचतारे होटेलमा ठुला होडिङ बोर्ड अगाडि बसेर खादा र मालाले अनुहार मुस्किलले देखिने नेतासंग फोटो नखिच्ने हो भने शुभकामना र बधाई समेत नपाइने रहेछ।
ओहो, कस्तो महङ्गो कस्तो लोकप्रिय फोटाहरु।
तिनै फोटाहरुको साथमा फेरि शुभकामनाका शब्दहरु तपाई जस्तो स्वच्छ छबिको ब्यक्ति/समाजसेवि/महान बिचारक/मृदुभाषी/ लोकप्रिय लगाएत शब्दहरुका बिच शुभकामना पाउन त अजङ्गको नेतासंग सकेसम्म हात मिलाएकै अङ्गालो हालेकै फोटो नभए कुमसम्म जोडाएको चाहिँ अनिवार्य हुनुपर्ने रहेछ।
विडम्बना !
के सत्तापक्ष के विपक्ष । सय भन्दा धेरै किलोको माला लगाउने प्रतिस्पर्धा नै चलेको छ। सशस्त्र युद्ध र शान्ति सम्झौतापछि सर्वाधिक ठुला माला तत्कालीन माओवादीका शिर्ष नेताहरुले लाए र अझै लाईरहेकै छ्न। यसको फाइदा उनको चाकडीमा जुटेका कतिले उठाए। केही शक्तिशाली विचौलिया र व्यापारी त उनका आसेपासे नै भएका छन् हेर्नुस् त फोटाहरुको कमाल।
एक बर्ष अगाडि एउटा फेसबुक पोष्टमा प्रतिक्रिया दिने क्रममा निक्कै ठुलो हुलदङ्गा नै चल्यो । पुर्व सञ्चारमन्त्रीको अडियो प्रकरणको समर्थन र बिरोधमा गरिएको पोष्टमा मन्त्रीका गलत र सहि कामको भण्डाफोरबाट सुरु भएको बहस निक्कै लामो थियो। एक पक्ष मन्त्रीलाई चोख्याउने र बचाउने तथा अर्काे पक्ष मन्त्रीका गलत कामको भण्डाफोर गर्ने तथ्यहरु आइरहेको नै थियो।
कसैले मन्त्रीलाई पारदर्शी /हक्की स्वाभावका बिकास प्रेमी भने। कसैले त्यसको उल्टो भ्रष्ट/नालायक/छुद्र जस्ता प्रतिक्रियाको चाङ लागेकै थियो। त्यसको प्रतिउत्तरमा मन्त्री बचाउन संबैधानिक निकाय कब्जा गरियो।
आखिर त्यो बहसको निष्कर्ष दलाल, चाकडी, चम्चा, हनुमानगिरीसम्म पुग्यो । मन्त्रीबाट राजीनामा दिइसकेपछि घाटीभरी माला र खादा लगाइदिदै उहाँसगै फोटो खिचेर सर्वमान्य नेता बिकास प्रेमी मृदुभाषी जस्ता शब्दगुच्छाले भरिपुर्ण गराउदा त स्वाभिमानी पो हुने रहेछौ।
नेपालमा नेताहरूको खादा र मालाको शैखिन स्वाभावका कारण सौभाग्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत राम जानकी मन्दिरको दर्शन गर्न आउदा दुई नम्बर प्रदेशमा मोदीले एकैदिन ३६३ किलोको माला लगाएका थिए।
दुई/चार जना कम्युनिष्ट आन्दोलनमा र विद्यार्थी आन्दोलनमा लागेर मैले चिन्ने र कुनै बेलाको विद्यार्थी आन्दोलनका धरोहर नेताहरुले ठुलो नेतालाई चाकडी नगरेका खादा र मालाले सम्मान नगरेका, ठुलो नेताहरू सगै बसेर फोटो नखिचाउदा आज सामान्य जीवन बिताएको देख्दा घरी घरी म्यासेज गर्छु ।
ए दाइ जानुस् एउटा खादा किन्नुस् अनि सके हात मिलाएर कुम जोडेर मात्रै फोटो खिच्नुस र उहीँ नेताको ब्याक्तित्वको बारेर दुई/चार हरफ बयान गर्नुस् । सके प्रतिनिधि सभाकै टिकट नत्र प्रदेशको यति पनी नभए समानुपातिक कोटामा त ठ्याक्कै परिन्छ र मन्त्रीको जागीर पक्का हुनेछ।
उहाँ भन्नुहुन्छ अत्यन्तै सरल उत्तर होईन भाइ म हैसियत बिर्सनु छैन। देशमा गणतन्त्र आएको दशक बित्दा पनि जनताले चाकडीको उही भद्दारुपमा देख्नु परेको छ। अर्थात् गणतान्त्रिक देशका नेताले राजा-राणा शासनकै जस्तो चाकडीको भद्दा दृश्य देखाइरहेका छन्।
राजतन्त्र र पञ्चायतका चाकडीकै धङधङी बोकेर नेताहरु डुलिरहेका छन् अर्थात् चाकडीबाज मात्र परिस्कृत भएको छ चाकडी हटेको छैन।
देश विकासले गति लिन सकेन भनेर सबैलाई थाहा छ । हामी चियागफमा होस् या सञ्जाल गफमा होस् या साथीसँगको भेटमा हुने आपसी कानेखुसीमा होस् राजनीति र नेताहरुका कारण दुःख पाऔं भन्छौ।
नेताले भ्रष्टाचार गरेर देशको सम्पती सक्यो । बिकासको बजेट दुरुपयोग भयो पनि भन्छौ। तर, यसरी भ्रष्टाचारले जरा गाड्नुमा जिम्मेवार नेता मात्र होर ? अन्धाधुन्ध समर्थन गर्ने हामी राजनीतिक दल आवद्ध जनता के हामी दूधले धोएका हौं ? आफैंले आफैंलाई प्रश्न गरौ। हामी जान अन्जानमा गलत बोलिरहेका छौ। राजनीतिक दलभित्र भएको गुट-उपगुट पनि चाकडीको एउटा मुख्य गोटी बनेर तिनै नेताको चाकडीबाज मालामाल भएकै छ्न।
कानुनतः ब्यबहारिक हिसाबले दास बन्ने गुटको नेतालाई खुसी बनाउने अनि आफ्नो हैसियत बिना पनि जिम्मेवारी हासिल गर्ने परिपाटीको कारण आज यो स्थिति आएको होईन र ?
नेताको गलत कामको ढाकछोप गर्ने साथै तथ्य बंग्याएर गलत बिश्लेषण र गलत कामलाई पनि राम्रो भन्दै जलप लगाउँदै जनतालाई भ्रम छर्ने तपाई/हामी उत्तिकै जिम्मेवार छैनौ र ? राजनीतिक दलका कार्यकर्ताहरु जबसम्म राजनीतिलाई जीबिकोपार्जनको आधार बनाउँछन् । तबसम्म उनीहरुमा नेताको गलत कामको बिरोध गर्ने हिम्मत हुन सक्दैन । किनकी नेताको गुलामी बन्द गरे आफ्नो जिउने आधार नै समाप्त हुने अवस्था भएपछि कसैले यस्तो हिम्मत गर्न सक्दैन ।
तर, कार्यकर्ता आत्मनिर्भर छ, उसलाई कसैको आशिर्बादबिना पनि जीविकोपार्जन हुन्छ भने उसले नेतृत्वको गलत कामको खुलेर आलोचना गर्छ र त्यस्तो आलोचनाबाट नेतृत्वमा सकरात्मक परिवर्तन आउँछ । त्यसैले राजनीतिलाई सहायक पेसा बनाएर आफूलाई उत्पादनको काममा जोड्नुपर्ने देखियो!!
चाकडिका विरुद्ध झन धेरै गुलामि र हनुमानगिरी,
भेलाका विरुद्ध झन ठुलो भेला,
आमसभाका विरुद्धमा बृहत् आमसभा,
आन्दोलनका विरुद्ध बृहत् आन्दोलन नै,
आमहडतालका विरुद्धमाबृहत् आमहडताल,
भ्रस्टाचारका विरुद्धमा आन्दोलन गर्दागदै झनै अथाह भ्रष्टाचार, अनियमितता देखि राष्ट्रघाती सन्धी र सम्झौताहरु,
कठै !
यतिसम्म लुट मच्याएर यो देश र जनताको अवस्थालाई बर्बाद मात्रै पारेनन, तहस नहस नै बनाइ सक्दा समेत अझै यिनीहरुले आह्वान गर्दै गरेका विरोधका कार्यक्रमहरुमा मरिहत्ते गरेर होमिने हामी जनताहरु चाहिँ कस्ता ?
कसैको गुलामी गर्नुको पनि एउटा हद र सिमा हुन्छ । आफु र आफ्नैलाई दशकौंदेखि लुटिरहदा समेत यिनै लुटेराहरुको समर्थनमा ज्यानको समेत प्रवाह नगरी बरुक बुरुक उफ्रिदै सडक जाम गर्दै हिँड्नेहरुको गति र मतिमा सुधार आएर बुद्धिको बिर्को कहिले खुल्ला र देशले आनन्दको सास फेर्न पाउला ?
ढिलो जमिएछु नत्र म पनि- एउटा फोटो
एक कुशल राजनीतिज्ञ भनौ या कुशल श्रस्टा दुबैमा अतुलनीय छवि बनाउन सफल हुनुभएको नेता तथा साहित्यकार बिश्वेश्वर प्रसाद कोइराला र मदन भण्डारी जस्ता गर्व गर्ने ब्यक्तिसंग फोटाे खिच्न पाएको भए विधि सिदान्त बिचार बाटोमा नै अलपत्र पारेका आजका कांग्रेस भनिने र कम्युनिस्ट भनिनेहरुलाई गतिलो जबाफ दिन्थे।