काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को अधिवेशन अन्त्य गरेर आफ्नो दललाई फुटाउने षड्यन्त्र भएको दाबी गर्दै त्यसविरुद्ध एकजुट हुन पार्टी पंक्तिलाई अपिल गरेका छन्। सोमबार अबेर राति जारी गरिएको वक्तव्यमार्फत् ओलीले यस्तो अपिल गरेका हुन्।
केही समययता एमाले र कम्युनिस्ट आन्दोलनलाई नै विभाजन गरेर समाप्त पार्ने गम्भीर षड्यन्त्र भइरहेको उल्लेख गर्दै ओलीले पूर्वघोषित प्रतिबद्धताविपरीत प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन र एमालेलाई विभाजित गर्ने षड्यन्त्र गरिएको वक्तव्यमा उल्लेख गरेका छन्।
‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन,’ उनले भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु।’
ओलीले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि भएका सहमति र अहिले पनि भइरहेका प्रयासहरु स्मरण गराएका छन्। त्यसअनुसार एमाले हिँडिरहेको दाबी पनि गरेका छन्। र, पार्टीका बैठकमा सबैलाई सहभागी हुन अपिल गरेका छन्।
‘यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चित गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुलाई हार्दिक आह्वान गर्दछु,’ ओलीले भनेका छन्, ‘पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत आफू सम्बद्ध कमिटीका बैठकमा सरिक हुन र आ-आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु।’