काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पनि वरिष्ठ नेता माधव नेपालले दर्ता गर्न लागेको नयाँ पार्टीतिर लाग्ने भएका छन्।एमालेले आज च्यासलमा राखेको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका गौतमले नयाँ पार्टी दर्ता गर्दा नेपाललाई साथ दिने निर्णय लिएका हुन्।
केपी ओली र नेपालबीच विवाद चलिरहँदा एमालेको केही बैठकमा सहभागी पनि भएका उनी नयाँ दल दर्ता हुने अवस्थामा एमाले छाड्ने पक्षमा उभिएका हुन्। नेपालले अर्याल होटलमा विशेषगरि आफूलाई साथ दिने सांसदहरुसँग छलफल गरिरहेका छन् । विश्वासको मत दिने बेला आफूसँग रहेका २२ जना सांसदसँग नेपालले छलफल गरेका हुन् ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र नयाँ पार्टी खोल्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । आजैबाट यसअघि ओलीलाई साथ दिएका गौतम पत्नी तुलसा थापा र माया ज्ञवाली पनि नेपाल पक्षमा लागेका छन् । अर्याल होटलका बैठकमा उनीहरु दुवैजना सहभागी छन् । भीम रावलसहित संस्थापन पक्षसँगको वार्तामा रहेका कार्दलका सदस्यहरू भने बैठकमा देखिएका छैनन् ।
नेता नेपालले आज आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ भन्दै तयारी अवस्थामा रहन भनिसकेका छन् । नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेको छ । विभाजन गर्ने बेलासम्म क-कसले साथ दिने भन्ने समेत नेपालले एक-एक सोधिरहेका छन् ।
झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रसाद भट्ट, भवानीप्रसाद खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, मेठमणि चौधरी, झपट रावल, यज्ञराज सुनुवार र राजबहादुर बुढा, तुलसा थापा र माया ज्ञवाली हुन् ।
त्यस्तै, ओली पक्षका सांसद्हरु कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी र नवराज सिलवाल पुगेका हुन्। उनीहरु किन गए भन्ने जानकारी प्राप्त हुन सकेको छैन। पहाडी भने केही अघिसम्म नेपाल पक्षमै थिए। उनी गत असारमा मात्रै ओली पक्षतिर लागेका हुन्।