काठमाडौं- नेकपा एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको छ । नयाँ पार्टीको अध्यक्षमा नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय रहने छन् ।
नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिएका हुन् । एमालेमा केपी ओलीले गरेको व्यवहार, दुईदुई पटक संसद भंग गरेको तर, गल्ती स्वीकार नगरेको तथा संसद र संविधानका रक्षाका लागि पार्टी एकताको आवाज उठाएपनि सुनुवाई नभएकाले नयाँ पार्टी बनाउने निर्णयमा पुगेको एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नयाँ पार्टीको अध्यक्ष नेपाल स्वयंम छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको नेता पाण्डेले जानकारी दिए । एमाले समाजवादीमा नवौं महाधिवेशनदेखि नेपाल समूहमा रहेका स्थायी कमिटीका अधिकांश नेताहरु भने अटाएका छैनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले नेता नेपालको साथ छाडेका हुन् ।
‘हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौ । एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाडोभन्दा चाडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौ’, पाण्डेले पत्रकारहरूसँग भने ।
मंगलबार सरकारले दल विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। सरकारले सिफारिस गरेको अध्यादेश बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेसँगै नेपालपक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो।
एमाले फुटेको यो दोस्रोपटक हो। २०५४ सालमा बामदेव गौतमको नेतृत्वमा एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो।