काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमाले नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ ।
१४ जना आफ्ना सांसदलाई पदमुक्त गर्न दिएको निवेदनउपर कारबाही नगरेको भन्दै एमालेले सभामुख सापकोटामाथि दबाब दिँदै आएकाे छ । अघिल्लो साता एमालेका सांसदहरु सभामुखकै कार्यकक्षमा पुगेका थिए ।
एमालेका सांसदहरुले सभामुखलाई लक्षित गरी मर्यादाविपरीत बल प्रयोगजस्ता धम्किपूर्ण अभिव्यक्ति र सोही दिन विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरुमा सभामुखविरुद्ध दिएको धम्कीमूलक अभिव्यक्तिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गठबन्धनमा आवद्ध कांग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जपसाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठले विज्ञप्ति जारी गरेर आपत्ति जनाउँदै संवैधानिक मर्यादाको अवलम्बन गर्न आग्रह गरेका छन् ।