काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ को अवस्थामा फर्कन सहमत भएका छन् । सोमबार आफ्नो निवास बालकोटमा माधव नेपालको साथ छाडेका नौजना स्थायी समिति सदस्यसँगको छलफलमा ओली पार्टीका सबै तहका संरचना (वडा, जिल्ला, प्रदेश, केन्द्र कमिटी) खारेज गर्न सहमत भएका हुन् ।
मंगलबार बोलाइएको स्थायी समिति बैठकले सो सहमतिलाई अनुमोदन गर्ने भएको छ । बैठकमा भीम रावल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसालसहितका नेता सहभागी थिए । संस्थापन पक्षबाट अध्यक्ष ओली, प्रवक्ता प्रदीप ज्ञवाली सहभागी थिए ।
छलफलमा अध्यक्ष ओली पुस ५ गतेपछि आफूले बनाएका सबै पार्टी संरचना खारेज गर्न सहमत भएका थिए । यदि माधव नेपाल नयाँ दल दर्ता गर्नबाट फर्किन्छन् र उनले पुस ५ गतेपछि गठन गरेका सबै संरचना खारेज गर्न सहमत भए १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन आफू तयार भएको ओलीले मध्यमार्गी नेताहरूलाई बचन दिएका छन् ।
नेता नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् । आयोगले बुधबार केन्द्रीय सदस्यहरूलाई सनाखत गर्न बोलाएको छ । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशअनुसार नेता नेपाललाई ४१ केन्द्रीय सदस्य र २४ सांसद भए नयाँ पार्टी दर्ता गर्न पुग्नेछ ।
त्यसैले पनि माधव नेपाललाई छाडेका मध्यमार्गी नेताहरूले आज ओलीलाई भेटी कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि दबाब बढाएका हुन् । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज भएका अनौपचारिक सहमतिलाई भोलि बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्ने जानकारी दिए ।