काठमाडौं– साउन महिना भरिमा मात्रै देशभर गरी २० जना महिलामाथि बलात्कार भएको तथ्याङ्क सार्वजनिक भएको छ। उक्त अवधिमा ५ जना महिलामाथि बलात्कार प्रयास भएको तथ्याङ्कमा जनाइएको छ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले देशभर गरेको अनुगमनका क्रममा साउन महिनाभरि विभिन्न घटनामा ३९ जना महिला पीडित भएका देखिएको हो।
बलात्कारका घटनामा २० तथा बलात्कार प्रयासमा ५ जना बाहेक यौन दुर्व्यवहारका घटनामा ३ जना, जबर्जस्ती यौन कार्यमा लगाएको घटनामा १ जना, एसिड प्रहारको घटनामा १ जना, बेचबिखन घटनामा ४ जना ‘बोक्सी’ आरोपको घटनामा १ जना र घरेलु हिंसाका घटनामा ३ जना महिला पीडित भएको इन्सेकले जनाएको छ।
साउन महिनाभरिमा मात्र १ सय ८ जना महिला र ३४ जना पुरुष गरी १ सय ४२ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको पनि इन्सेकले जनाएको छ। उक्त अवधिमा राज्य पक्षबाट ४ जना र अन्य पक्षाबाट १ सय ३८ जना पीडित भएका इन्सेकको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार प्रदेश २ मा ४९, प्रदेश १ मा २५ जना, लुम्बिनी प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा १७ जना, कर्णाली प्रदेशमा १५, बागमती र सुदूरपश्चिम प्रदेशमा ६/६ जना पीडित भएका छन्।
साउनमा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई, एक मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना तीन, पुरुषलाई गरिएको यौन दुर्व्यवहारको घटनामा एक र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, बाल अधिकार उल्लङ्घनका ५१ घटना भएको प्रवितेदनमा उल्लेख छ। अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुव्र्यवहार १०, बेचबिखन एक र बेचबिखन प्रयासको घटना एक भएको इन्सेकले जनाएको छ ।