काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक केही ढिला गरि सुरु भएको हो। यसअघि आजै विहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै दिउँसो तीन बजेका लागि सारिएको थियो।
च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सुरु भएको बैठकमा माधवकुमार नेपालको साथ छाडेका एमाले स्थायी कमिटी सदस्यहरु पनि सहभागी भएका छन्।
पार्टी विवादमा लामो समयदेखि नेता नेपालको पक्षमा उभिँदै आएका नेताहरु युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तले सोमबार दिउँसो ओली निवास बालकोट पुगेर उनीसँग सहमति गरेका थिए।
सर्वोच्च अदालतको फैसलाले २०७७ फागुन २३ गते एमाले ब्युँतिएपछि ओलीले आफ्नो अनुकूलतामा आफू पक्षको बैठक राख्दै आफूलाई सहज हुने निर्णय गर्दै आएका थिए। नेता नेपालको नेतृत्वमा ती नेताहरुले पनि समानान्तर बैठब गर्दै आएका थिए।
फागुनदेखि कुनै पनि बैठकमा सहभागी नभएका उनीहरु झन्डै ६ महिनापछि ओली नेतृत्वको एमालेको बैठकमा सहभागी भएका हुन्। त्यसो त उनीहरु तत्कालीन नेकपा कामय रहँदा नै पुस ५ को कदमपछि ओली सहभागी बैठकमा सहभागी भएका थिएनन्।
बैठकमा सहभागिताका लागि अमृत बोहरा पनि गएका छन्। उनी अनुशासन आयोगका अध्यक्ष हुन्। बैठकमा माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरु पनि सहभागी भएका छन्।
आजको बैठकले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार गर्ने भनिएको छ। त्यसका लागि ईश्वर पोखरेल, भीम रावल र विष्णु पौडेलको अनौपचारिका कार्यदल पनि बनाइएको छ।