विराटनगर- प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सचिव भीम आचार्यले शपथ लिएका छन्।
बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको शपथ दिलाइएका हुन्।
आचार्यलाई वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको थियो। उनले आजै कम्तीमा २ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्न सक्नेछन्।
आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको शपथ लिएका हुन्। उनले केही समयअघि प्रदेश प्रमुख प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
भोजपुरबाट निर्वाचित शेरधन राई करिब चार वर्ष प्रदेश १ को मुख्यमन्त्री भएर बिहीबारदेखि बिदा भएका छन्। यो चार वर्षको अवधिमा उनले प्रदेश १ को राजधानी विराटनगरमै कायम गरिदिए।
राज्यका हरेक सेवा सुविधा केन्द्रित भइसकेको सहरमै राजधानी कायम गरेपछि आलोचना खेपेका उनैले प्रदेश १ को नाम भने जुराउन सकेनन्।
मुख्यमन्त्रीबाट बिदा हुँदै गर्दा उनले आफ्नै प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्यलाई चयन गराउन सफल भए। र, सँगै प्रदेश १ को नाम जुराउने जिम्मा पनि अब आचार्यकै काँधमा सुम्पिएका छन्।