काठमाडाैं- अमेरिकाले अफगानिस्तानको नाङ्गाहार प्रान्तमा इस्लामिक स्टेट (आईएसआईएस) का लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि अमेरिकी सेनाले आक्रमण गरेको हो ।
अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘अफगानिस्तानको नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण भएको छ । सुरुवाती रिपोर्टअनुसार टार्गेट मारिएका छन् ।’ उनका अनुसार आक्रमणमा सर्वसाधारणलाई भने कुनै क्षति भएको छैन ।
बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती विस्फोटमा १३ जना अमेरिकी सुरक्षाकर्मीसहित १६० जना अफगानी नागरिक मारिएका थिए । अमेरिकाले काबुल आक्रमणको ४८ घण्टापछि हवाई आक्रमण गरेको हो । स्काई न्युजका अनुसार २ जना ब्रिटिस नागरिक पनि मारिएका छन् ।
अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि अमेरिकालगायतका मुलुकले लगातार उद्धार कार्य गरिरहेको छ । शुक्रबार मात्रै ४ हजार २ सयको उद्धार गरिएको छ । बिहीबार पनि करिब ७ हजार ५ सयको उद्धार गरिएको थियो ।
ह्वाइट हाउसका अनुसार अगस्ट १४ देखि यता अमेरिकाले १ लाख ९ हजारभन्दा बढीको उद्धार गरेको छ । यसैबीच अमेरिकाले काबुल विमानस्थलमा विभिन्न गेटमा रहेका आफ्ना नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।