जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार र विभेदपूर्ण व्यवहारको कारण मुलुकको विकास हुन नसेकको बताएका छन् ।
जसपाले शुक्रवार जनकपुधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै सधै शासनसत्ता बस्नेले आर्थिक अनियमितता गर्ने र सत्तामा मधेशी, थारु, मुस्लिम, दलित, आदवासी जनजातिसँग विभेदपूर्ण मानसिकताको कारण मुलुकको विकास हुन नसकेको बताए ।
जलश्रोत, पर्यटनलगायत क्षेत्रलाई प्रवर्द्धन गर्ने सकेको खण्डमा देश आर्थिक सम्वृद्धिको बाटोमा छिट्टै पुग्ने अध्यक्ष यादवले दावी गरे ।’आफ्नै देशमा मधेसीलाई विहारी भनेर हेप्ने गरिन्छ, उनले भने, ‘तर हेप्नेहरुलाई यो थाहा छैन कि नेपालभन्दा मधेसको इतिहास पुरानो छ र सांस्कृतिक रुपमा अब्बल छ ।’
विगतमा समाजवादी शब्द सुन्न नचाहनेहरु अहिले धमाधम समाजवादी शब्द राखेर पार्टी दर्ता गराई रहेको उनले टिप्पणी गरे । ‘सुरुमा आफूले मधेशी जनअधिकार फोरम गठन गर्दा विभिन्न व्यक्तिले टिकाटिप्पणी गरे,’ अध्यक्ष यादवले भने, ‘तर पछि सप्तरी बरमझियाको पेडा पसलजस्तै फोरमकै नामले अनेकन पार्टीको गठन भयो । अहिले ति पार्टीहरु बिलिन नै भइसकेको छ ।’
पार्टीको नाम आफूले परिवर्तन गरे पनि मधेस मुद्दा नछाडेको दावी गर्दै अध्यक्ष यादवले भने, ‘मैले मधेश मुद्दा छोडेको छैन, बरु मधेस मुद्दालाई बलियो बनाउन, शक्ति प्रदान गर्न आदिवासी, जनजाति, मुस्लिम, दलित लगायतका मुद्दालाई सँगै लिएर अगाडि बढिरहेको छु ।’