काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीमा एउटा भन्ने र ठीक उल्टो गर्ने प्रवृत्ति रहेको बताएका छन्। शनिबार वाईसीएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरोधी ओलीको अभिव्यक्ति देखाउनका लागि राखिने ‘लेभल’ जस्तो मात्रै रहेको बताए।
‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने कति राम्रो स्टेटमेन्ट छ। योभन्दा राम्रो अर्को राम्रो स्टेटमेन्ट हुन्छ भ्रष्टाचारविरुद्ध? केको लागि भन्नुहुँदोरहेछ भनेको त भ्रष्टाचारलाई छोप्न पो रहेछ। लेभल मात्रै रहेछ। रक्सी अर्कै छ, लेभल त्यो राख्ने बानी रहेछ उहाँको,’ उनले भने।
प्रचण्डले एमालेसँगको एकतालाई पार्टीकै कतिपयले मन नपराएको भए पनि आफूले खोजेजस्तै सम्झौता भएको बताए। ‘केपी ओली र मैले सही गरेको प्रतिवेदन हेर्नुभयो भने देख्नुहुन्छ। त्यहाँ माओवादी जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मुख्य भूमिका खेलेको हो भन्ने कुरामा केपीले सही गरेका छन्। नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायमा राजनीतिक जागरण ल्याउनमा माओवादी आन्दोलनले निर्णायक भूमिका खेल्यो भन्नेमा केपीले सही गरेका छन्। अनि अध्यक्ष पालोपालो र प्रधानमन्त्री पनि पालोपालो भन्नेमा पनि सही गरेका छन्। त्यहाँभन्दा केही चाहियो?,’ उनले भने।
उनले जे भनिएको थियो, त्यही हुन्छ भन्ने बुझेको प्रचण्डको भनाइ छ। ‘पछि त उनले खालि प्रधानमन्त्री प्राप्त गर्नका लागि ठगी धन्दा रहेछ त्यो त। तमसुकमा सही गरेपछि त भयो भन्ने ठानियो के हामीले। तमसुक हेरेर बसियो। उनले प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे,’ उनले भने।
प्रचण्डले युवाहरुलाई नेतृत्वको लागि अगाडि बढ्न आग्रह गरे। ‘मलाई छिटोभन्दा छिटो बिदा लिएर संस्मरण लेख्न मन छ। तर तपाईंहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन,’ उनले भने।
अध्यक्ष दाहालले अहिले आफूहरु विजयी मुडमा भएको भए पनि कुनै पनि बेला प्रतिक्रान्तिको खतरा हुनसक्ने बताए। ‘पहिलो पटक प्रतिनिधि सभा पुनःस्थापित भएपछि माधव नेपाल र मैले लड्डु खायौं। त्यसको स्वाद जान पाथेन, दुईटा पार्टी भए। ड्याम्म घन हानेजस्तो हाइहाल्यो। बल्लतल्ल त्यसलाई सम्याइएको छ। कताबाट के आउने हो भन्ने कुरामा पनि सचेत हुनुपर्छ,’ उनले भने।