काठमाडौं- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताएका छन् ।
एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेपछि पहिलोपटक बसेको आफ्नो पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीसँगको व्यक्तिवादी चरित्रविरुद्धको निरन्तर संघर्षपश्चात नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताए ।
पार्टीभित्र पक्षपात गर्ने ओलीले बैठकहरुमा बोल्नसमेत नदिएको नेपालको भनाइ छ । पार्टीदेखि संसदसम्म आफ्नो व्यक्तिवादी चरित्र लाद्ने ओलीले संसद विघटन गरेर पार्टी एकतालाई भाँडेको अध्यक्ष नेपालको आरोप छ ।
ओलीले गोप्य सहमति पालना गरेनन्
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले गोप्य सहमति नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सृजना भएको आरोप लगाएका छन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले साविक नेकपाका बेला प्रचण्डसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई ओली लत्याउँदा राजनीतिक अस्थिरता सुरु भएको आरोप लगाए ।
दक्षिणपन्थीको इसारामा गुटको राजनीतिक गरेर ओलीले कम्युनिष्ट एकतालाई मात्रै होइन एमालेलाईसमेत जोगाउन नसकेको नेपालको आरोप छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्न नहुने र बोल्न नहुने अव्यक्ति दिएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका उनले चुनावी घोषणा पत्रविपरीत ओली अघि बढेको आरोप दोहोर्याए ।
प्रधानमन्त्रीको कुर्सी असुरक्षित भएपछि ओलीले प्रतिनिधि सभा विघटन गरेको नेता नेपालको आरोप लगाए । नेता नेपालले सरकार र पार्टीमा आफ्नो विकल्प नरहेको भन्ने अहम् ओलीले पालेको बताए ।
ओलीलाई सुझाव : महालेखाको प्रतिवेदन पढ्नुहोस्
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई महालेखा परीक्षकको ५८औँ प्रतिवेदन पढ्न सुझाव दिएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो शासनकालमा भ्रष्टाचार नभएको बताउने पूर्वप्रधानमन्त्री ओलीले महालेखाको प्रतिवेदन पढ्नुपर्ने बताएका हुन् ।
ओलीको शासनकालमा भ्रष्टाचार र अनियमितताको घटना धेरै भएको आरोप लगाएका नेपालले हालै सार्वजनिक महालेखा परीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले सबै छर्लङ पारेको बताए । ‘आफूले राम्रो काम गरेको, भ्रष्टाचारीलाई कारबाही गरेको बताउने ओलीले महालेखाको प्रतिवेदन एकचोटी पढे हुन्छ नि’, अध्यक्ष नेपालले भने ।
एकीकृत समाजवादी स्थापित हुन्छ
अध्यक्ष नेपालले आफ्नो पार्टी स्थापित हुने दाबी गरेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्ना नेताहरुलाई हौसला प्रदान गर्दै आफूहरुको पार्टी पनि स्थापित हुने दावी गरेका हुन् ।
नयाँ पार्टीहरु नचलेको भन्दै समाजवादीप्रति टिप्पणी भइरहेको भन्दै नेपालले पुष्पलाल श्रेष्ठदेखि तल्सीलालसम्मको क्रान्तिकारी र विद्रोहीचेत बोकेर गठन भएको समाजवादी पनि स्थापित हुने दावी गरे ।
कुनै पार्टीसँग एकता नगर्ने माधव नेपालको घोषणा
माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् । पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने र ध्यान जाने बताए ।
आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेका बताएका उनले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए । राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको बताएका उनले वाह्यमुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।
वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाइ छ ।
संसदीय दलका नेतामा नेपाल
नेकपा एमाले विभाजित भई हालै गठन भएको नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) को ल्होत्से हलमा बसेको आज अपरान्ह बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको छ ।
कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने तयारी गरिरहेको नेकपा (एस) सँग संघीय संसदमा ३० जना सांसद रहेका छन । नेपाल नेतृत्वको नेकपा एसले गत भदौं ९ गते दलको मान्यता प्राप्त गरेको थियो ।