काठमाडाैं- मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी)को संसदीय अनुमोदनमा सहमति नजुटिरहेको बेला उक्त पूर्वाधार परियोजनाकी उपाध्यक्ष फतिमा सुमार आगामी साता काठमाडौं आउने भएकी छिन् ।
एमसीसी नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्टका अनुसार सुमार एमसीसीको पछिल्लो अवस्थाको अध्ययन गर्न नेपाल आउन लागेकी हुन् । एमसीसीको निम्तोमा नेपालमा रहँदा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिका दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम छ ।
नेपालले एमसीसी सहयोग लिनेबारे अन्तिम चरणको छलफल गर्दा पनि सुमारको सहभागिता थियो । काठमाडौंमा रहँदा सुमारले एमसीसीले आयोजना गर्ने कार्यक्रममा पनि भाग लिने भएकी छिन् ।
एमसीसीको संसदीय अनुमोदनमा राजनीतिक दलबीच मतैक्य नभैरहेको बेला सुमारको भ्रमण हुन लागेको हो । अमेरिकाले यसअघि विदेशमन्त्री, स्टेट डिपार्टमेन्टको प्रतिवेदन र राजदूतमार्फत पनि एमसीसी पारित गराउन दबाब दिँदै आएको थियो ।
नेपालले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौता अन्तर्गत नेपालले बिजुलीको प्रसारण लाइन र सडक मर्मतका लागि ५०० मिलियन डलर (करिब ६० अर्ब रुपैयाँ) प्राप्त गर्नेछ । मंगलबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर, उनको प्रस्तावलाई गठबन्धनका अरु सदस्यहरुले तत्कालै अस्वीकार गरेका थिए।
एमसीसी धेरै विवादित भएको र गठबन्धनमा यसप्रति फरक धारणा राख्ने दलहरु सामेल भएकाले तत्काल एमसीसीलाई अघि नबढाउने सहमति नेताहरुबीच भएको थियो। तर, पछिल्लो समय देउवाले अमेरिकाको चाहनामा गठबन्धनका नेताहरुलाई दबाब दिएको बुझाइ माओवादी केन्द्रसहित गठबन्धनका अरु नेताहरुको भनाइ छ।
एमसीसीकै कारण सत्ता गठबन्धनमा दरार नआओस् भनेर सरकारको न्यूनतम साझा कार्यक्रममा समेत यो विषय समेटिएको थिएन। गठबन्धनलाई आगामी चुनावसम्म लैजाने र चुनावपछि आउने सरकारले एमसीसीबारे निर्णय गर्ने सहमति जुटेको थियो।