गाेरखा- नेपाली कांग्रेस औपचारिक रुपमा १४ औं महाधिवेशनमा प्रवेश गरेको छ। वडा अधिवेशन आज (शुक्रबार) देखि सुरु गरेर कांग्रेसको महाधिवेशनको प्रक्रिया सुरु भएको हो। क्रियाशील सदस्यता सूची प्रकाशित भएका गाेरखाका ११ वटा स्थानीय तहका ९४ वडाको अधिवेशन हुँदै छ।
वडाको अधिवेशनमार्फत क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। एक सय पचास वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यमध्येबाट प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि कम्तिमा तीन जना महिलासहित नौ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने विधानको व्यवस्था छ।
एक सय पचास भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ जनाको सीमाभित्र रही प्रति एक सय थप क्रियाशील सदस्यमा दुई महिला सहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था छ।
प्रतिनिधि चयन गर्दा विधानको व्यवस्था अनुसार महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट दुई तिहाइ संख्यामा वडाको जनसंख्याको बनोट अनुसार समानुपातिक आधारमा प्रतिनिधि निर्वाचित हुनेछन्।
गाेरखाका नगरपालिकाका तर्फ २४ वडा छन् भने गाउँपालिका तर्फ ७० वडा छन् । १३ औँ जिल्ला अधिवेशनमा ७ हजार कृयाशील सदस्य संख्या रहेकोमा १४ औँ अधिवेशनमा ५ हजार भन्दा धेरै थपिएका हुन्। पार्टी कार्यालय गोरखाका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ६ हजार ६९५ र क्षेत्र नं.२ मा ५ हजार ५२० जना क्रियाशील सदस्य रहेका छन् ।