पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् ।
मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताए ।
स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले अघि भने, ‘ कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो !’
हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको उनले बताए । उनले भने, ‘थुप्रै नेताहरु जाउँ कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरु मसाल बोकेर निस्किनुभयो । एमाले कब्जा हुँदैन भनेर उठ्नुभयो ।’
उनले एमाले छाडेर हिँडेका नेपाललाई बेसरम व्यक्तिको संज्ञा दिए। ‘एउटा अत्यन्तै बेसरम ब्यक्तिको नेतृत्वमा अभियान चलेको छ’, उनले भने, ‘एक दुईवटा बिग्रिएका व्यक्तिहरु लागेका थिए। अहिले एमालेबाट चोइटिएर हिँडेका छन्।’
नेपालले एमालेका कार्यकर्ता आफूतिर तान्न अनेक प्रलोभन दिएको बताए। ‘प्रदेशमा पनि आएर अनेक प्रलोभन देखाउन थालेका छन्। बरु आफैं खाऊ खान जन्मिएका हौ खाऊ’, उनले भने, ‘एमालेका कार्यकर्ता खान मात्रै जन्मिएका होइनन्। ‘