काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले पार्टी हेरेर संसद् विघटनलाई सदर र बदर गर्ने गरेको आरोप लगाएका छन्।
मंगलबार नेकपा एमाले कास्कीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदले काम गर्न पनि नसक्ने र बच्न पनि नसक्ने स्थितिमा पुगेपछि आफूले विघटन गरेको बताए।
‘अदालतले त जे पनि फैसला गर्दा त मान्नुपर्छ। सबैलाई थाहा छ। मान्नुपर्ने भएपछि अदालतले पुनःस्थापना गरिदियो। एउटा साधारण नियम छ अदालतको। संविधानमा जेसुकै लेखिएको होस्। कांग्रेसले विघटन भयो भने सदर, एमालेले विघटन गर्यो भने बदर। त्यो पहिल्यैदेखि हो,’ उनले भने।
ओलीले मनमोहन अधिकारीले विघटन गरेको संसद्लाई अदालतले पुनःस्थापित गरेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बताए। ‘अहिले त अदालतबाट फलानालाई प्रधानमन्त्री तोकिएको छ भनेर सोझै दिने खालको परमादेश। त्यो समेत हुनथाल्यो,’ उनले भने।